सञ्चार नीति बनाउँदै कोहलपुर

सञ्चार नीति बनाउँदै कोहलपुर

कोहलपुर ८ वैशाखः बाँकेको कोहलपुर नगरपालिकाले आमसञ्चार नीति बनाउने भएको छ । सञ्चार नीति बनाउनका लागि नगरपालिकाले अहिले सरोकारवाला पक्षहरुसँग सल्लाह सुझाव सङ्कलन गर्ने काम शुरु गरेको हो ।

नगरपालिकाले एउटा सञ्चार मस्यौदासमेत तयार पारिसकेको छ । मस्यौदामाथि छलफलका लागि सोमबार कोहलपुरमा एक कार्यक्रम आयोजना गरेर सञ्चारकर्मीहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सञ्चार नीति बनाउनका लागि नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरीको संयोजकत्वमा तीन सदस्यीय मस्यौदा तयार समितिसमेत बनाएको नगरपालिकाले जनाएको छ । अध्यक्ष गिरीको संयोजकत्वमा कोहलपुर नगरपालिकाका रोजगार शाखा प्रमुख आशिष वर्मा र प्रेस संयोजक प्रीयास्मृति ढकाल समितिमा सदस्य रहेका छन् । उक्त समितिले तयार पारेको मस्यौदामाथि सोमबार छलफल तथा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुरबाट सञ्चालन हुने सबै पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाईन सञ्चारमाध्यमहरुलाई दीर्घकालीन रुपमा अगाडि बढाउने उद्देश्यले नीति आवश्यक पर्ने भएकाले कोहलपुरले आमसञ्चार नीति बनाउन लागेको बताए ।

‘कोहलपुरबाट सञ्चालन तथा प्रकाशन हुने सबै सञ्चारमाध्यमलाई दीगो तथा दीर्घकालीन रुपमा अगाडि बढाउनका लागि एउटा नीति चाहिन्छ, नीति निर्माणका लागि मस्यौदा समितिसमेत बनाएर मस्यौदा तयार भइसकेको छ ।’ नगरप्रमुख आचार्यले भने, ‘स्थानीय रुपमा सञ्चालन हुने सबै सञ्चारमाध्यमलाई नगरपालिकाले पनि सहयोग गर्नुपर्छ भन्ने उद्देश्य हो, सोही अनुरुप अहिले सबै सरोकारवाला पक्षसँग छलफल तथा सल्लाह, सुझाव लिने काम गरिरहेका छौँ ।’

उनले नीति निर्माण कार्य अहिले नै अन्तिम नभएको भन्दै छलफलका क्रममा रहेकाले सबैले आवश्यक सल्लाह र सुझाव दिन आग्रह गरे । ‘नीति निर्माण भएपछि तपाईँहरुकै लागि बन्ने हो, यो अन्तिम होइन, छलफलकै क्रममा छौँ, आवश्यक सल्लाह र सुझाव दिनुहोला ।’ नगर प्रमुख आचार्यले भने,‘तपाईँ सबैको सुझाव आइसकेपछि कार्यपालिकामा लैजाने र नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने हाम्रो योजना छ ।’

Duduwa Tato hawa Bachau Image

कार्यक्रममा कोहलपुर नगरउपप्रमुख संगीता सुवेदीले पत्रकारहरुले दिएको सल्लाह, सुझावका आधारमा ड्राफ्ट तयार पारी कार्यपालिकामा पेश गरिने हुँदा कार्यपालिकामा पेश गर्नुअघि आवश्यक सल्लाह र सुझावको अपेक्षा गरिएको बताइन् । उनले सञ्चार नीतिलाई अन्तिम रुप दिनका लागि फेरीपनि सरोकारवाला पक्षसँग छलफल गरिने बताइन् ।

कार्यक्रममा नगरपालिकाकी विधायन समिति संयोजक सुनिता सुनार, मस्यौदा समितिका संयोजक तथा पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरी, सदस्यहरु आशिष वर्मा र प्रीयास्मृति ढकालले मस्यौदाका बारेमा जानकारी दिएका थिए ।

सहभागी पत्रकारहरुले मस्यौदामाथि व्यापक रुपमा छलफल गरेका थिए । कोहलपुर नगरपालिकले आमसञ्चार नीति ल्याउन थालेकोमा खुसी व्यक्त गर्दै उनीहरुले विभिन्न सल्लाह तथा सुझाव प्रदान गरेका थिए । दिइएका सल्लाह र सुझाव समेटेर सञ्चार नीति बनाउनुपर्नेमा उनीहरुको जोड थियो ।