विभागीय सहित ८ टिम सहभागि हुने, विजेतालाई ५ लाख पुरस्कार

विभागीय सहित ८ टिम सहभागि हुने, विजेतालाई ५ लाख पुरस्कार

नेपालगन्ज २७ चैत्र : लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपालका तीन विभागीय टिम, भारतको सिलगुडी फुटबल क्लब सहित ८ टिमको सहभागिता रहने भएको छ । आयोजक अन्तरालले बुधबार पत्रकार सम्मेल गर्दै प्रतियोगितामा सहभागि हुने टिमको घोषणा गरेको हो ।

प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, भारतको सिलगुडी फुटबल क्लब र रौतहट जिल्ला फुटबल संघ टिमले प्रतिस्पर्धा गर्ने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए ।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । 

हरेक खेलमा उत्कृष्ट खेलाडी र प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने आयोजक अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले जानकारी दिए ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दे उनले खेलमा यो प्रतियोगिता पछि नियमित फुटबल प्रशिक्षण गर्ने तथा रंगशालाको भौतिक पुर्वाधार मर्मत सम्हारमा पनि सहयोग जुट्ने बताए ।

नेपालगन्ज रंगशालामा आगामी वैशाख ५ गतेदेखी १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिता हेर्नको लागि सिजनल फुल प्याकेज १५ सयको टिकट ब्यबस्था गरिएको छ । साथै विद्यार्थीहरुको लागि सहुलियतको पनि ब्यबस्था गरिएको आयोजकले जनाएको छ । खेल हेर्नको लागि भिआइपी प्यारापिट र नर्मल प्याराफिट अनुसार टिकटको ब्यबस्था गरिएको छ । 

लुम्बिनी कपमा घोषणा गरिएको पुरस्कार राशी अहिलेसम्मकै उत्कृष्ट भएको आयोजकको दाबी छ । प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने फुटबलकर्मीले विश्वास लिएको छन् । 

बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले पश्चिम नेपालमा महिला फुटबल खेलाडी उत्पादनमा लुम्बिनी कप महिला फुटबलले सहयोग गर्ने बताए ।

प्रतियोगिताको प्रचार प्रसार उपसमिति संयोजक निरज गौतमले स्वागत गरेको कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द, अखिल नेपाल फुटबल संघका निर्वतमान केन्द्रिय सदस्य प्रदेश सिंह राठौर, अखिल नेपाल फुटबल संघका पुर्व उपाध्यक्ष गोबर्धन सिंह सम्झना, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Duduwa Tato hawa Bachau Image

कार्यक्रममा प्रतियोगिता आयोजनाको लागि विभिन्न क्षेत्रमा सहकार्य गर्ने निकायहरुसँग सम्झौता पत्र आदान–प्रदान गरिएको थियो । जसअनुसार टिकट पार्टनर इसेवा नेपालगन्ज शाखाका म्यानेजर महेन्द्र रानालाई सचिवालय प्रमुख रमेश मल्लले सम्झौता पत्र हस्तान्तरण गरेका थिए ।  हस्पिटालिटी पार्टनर होटल सिटी प्यालेसका सञ्चालक दुर्गा नाथ अर्याललाई प्रतियोगिता समन्वय तथा परीचालन उपसमिति संयोजक तेज विक्रम शाहले फाइल हस्तान्तरण गरेका थिए ।

अफिसियल फिजियो पार्टनर मनमाया मेमोरियल फिजियोथेरापि सेन्टरका डाक्टर खेमा भण्डारीलाई प्रतियोगिताका पब्लिक रिलेसन म्यानेजर चाहना शाहले र सेक्युरिटी पार्टनर रक्षक सेक्युरिटीका सुपरभाइजर निम खत्रीलाई प्रतियोगिताका उपसमिति संयोजक निरज गौतमले, प्रत्यक्ष प्रसारणको लागि खेलाडी डटकम लुम्बिनी प्रदेश ब्युरो प्रमुख कमल खत्रीलाई राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य विनोद मैनालीले सम्झौता पत्र हस्तान्तरण गरेका थिए ।