चैतमै लुम्बिनीमा १२१ आगलागीका घटना

चैतमै लुम्बिनीमा १२१ आगलागीका घटना

नेपालगन्ज २५ चैत्र : गर्मी सिजन शुरु भएसँगै लुम्बिनीमा एक सय २१ वटा आगलागीका घटना भएका छन् । यसबाट घरटहरा मात्र जलेका छैनन्, आगलागीबाट आएको धुवाँले वातावरणमा समेत प्रत्यक्ष असर पारेको छ।

लुम्बिनीको सबैभन्दा बढी रूपन्देहीमा २० र नवलपरासीमा १९ जना आगलागीका घटना भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार नवलपरासीमा सातजना घाइते भएका छन् ।

त्यस्तै आगलागीमा परी लुम्बिनीमा १२ जना सर्वसाधारण घाइते भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनार्दन जिसीले जानकारी दिए । उनका अनुसार कपिलवस्तुमा १२, दाङमा सात, बाँकेमा आठ, बर्दियामा ११, पाल्पामा ६, गुल्मीमा १२, अर्घाखाँचीमा १०, प्युठानमा चार, राल्पा र रुकुम पूर्वमा ६-६ वटा आगलागीका घटना भएका छन् ।

यस वर्ष आगलागीबाट लुम्बिनीमा मानवीय क्षति भने भएको छैन । नवलपरासीमा ३० लाख, ८९ हजार पाँच सय, रूपन्देहीमा १९ लाख ३५ हजार, कपिलवस्तुमा १४ लाख ५० हजार, दाङमा तीन लाख ७० हजार, बाँकेमा २० लाख १२ हजार, बर्दियामा २५ लाख पाँच हजार पाँच सय, पाल्पामा २० लाख ५० हजार, गुल्मीमा १२ लाख ६७ हजार, अर्घाखाँचीमा १२ लाख ७० हजार, प्युठानमा ८० हजार, रोल्पामा १४ लाख र रुकुम पूर्वमा एक लाख ५० हजार बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

गर्मीयामसँगै आगलागीको जोखिम बढेको छ । विशेषगरी आगोको संवेदनशीलता बुझ्न नसक्दा यस्तो जोखिम हुन्छ । सहरी क्षेत्रमा विद्युत् सर्ट सर्किट, धुप वा दियो बालेर रातभर छाड्दा पल्टिएर, ग्यास लिक भई विस्फोट हुनुजस्ता कारणले आगलागी हुने गरेको छ ।

ग्रामीण क्षेत्रमा चुलो बाल्दा, गाईवस्तुलाई कुँडो पकाउँदा बलेको आगो छाडेर हिँड्दा, आगो ताप्दा वा बाहिरी झिल्का परेर पनि आगलागीका घटना हुने गरेका छन् । लुम्बिनीका कतिपय जंगल क्षेत्रमा डढेलोसमेत लागेका छन् । डढेलोबाट वायु प्रदूषणमा सघाउ पु¥याउने गरेको कतिपयको भनाइ छ ।

Duduwa Tato hawa Bachau Image

आगलागीबाट वातावरणीय प्रदूषणमा पनि व्यापक असर पारेको छ । वायुमण्डलमा धुवाँधुलो र तुवाँलोको कारण विभिन्न खाले श्वासप्रश्वाससम्बन्धी रोग फैलिने क्रम बढेको स्वास्थ्यकर्मी बताउँछन् । डढेलोका कारण निक्लेको धुवाँधुलोका कारण हिमाली भेगमा समेत असर पारेको छ ।

लुम्बिनीका सिस्ने, पुथालगायतका हिमालमा अत्यधिक हिउँ पग्लेर काला ढुंगा देखिन थालेका छन् । जंगली जनावर तथा पशुपन्छीलगायतका जीवजन्तुको वासस्थान नास हुन पुगेको वातावरण संरक्षणकर्मी बताउँछन् । कतिपय जनावर डढेलोका चपेटा परेर मरेका छन् ।