राप्रपाद्वारा मंगलबार कोहलपुर बन्द आह्वान
राजावादी कार्यक्रममा सक्रिय सहभागिता जनाउने निर्णय
नेपालगन्ज २५ चैत्र : राजावादी समूहले काठमाडौंस्थित तीनकुनेमा चैत १५ गते सम्पन्न प्रदर्शनलाई हिंसात्मक बनाउन मद्दत गरेको भन्दै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा.धवल शमशेर राणालगायत नेता तथा कार्यकर्ताको रिहाइ माग गर्दै भोली (मंगलबार) कोहलपुर बन्दको आह्वान गरेको छ ।
राजावादी समूहको संयुक्त आन्दोलन परिचालन समिति बाँकेको आयोजनामा कोहलपुरस्थित पूर्व–पश्चिम र उत्तर–दक्षिण राजमार्गहरू पनि ठप्प हुने राप्रपाले जनाएको छ ।
तीनकुनेमा राजावादी समूहले हिंसात्मक घटना गरेको र उक्त भीडलाई उत्तेजित बनाएको भन्दै राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री राणालगातका राजावादी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
गत शुक्रबारको राजावादी प्रदर्शन हिंसात्मक भएपछि सो हिंसा भड्काउन भूमिका खेलेका राप्रपाका दुई नेता मिश्र र राणालगायतलाई राजद्रोह र सङ्गठित अपराधको कसुरमा अनुसन्धान भइरहेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा ५० मा राजद्रोहको कसुरसम्बन्धी व्यवस्था छ, जसमा अधिकतम २५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
सरकारले विचारलाई बन्धक बनाएको भन्दै पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै विभिन्न आन्दोलन गर्दै आएका छन् । शान्तिपूर्ण आन्दोलनमा सरकारले बल प्रयोग गरी आन्दोलनमा सहभागी नागरिकलाई उत्तेजित पारी धनजनको क्षति सरकारले नै गरेको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले जनाए ।
संयुक्त आन्दोलन परिचालन समितिले गत चैत्र १५ गते काठमाण्डौंको तीनकुनेमा भएको घटनामा पक्राउ परेका राप्रपाका नेता तथा कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेको छ । त्यसो नगरिए उक्त कार्यलाई निरन्तरता दिने घोषणा समेत गरेको छ ।
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बल्खुमा आमसभा गर्ने भएको छ । भृकुटीमण्डपमा आमसभा गर्न अनुमति माग गरे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिफल वा बल्खुमा आमसभा गर्न भनेको थियो ।
अब चैत २६ गते बागमती प्रदेशस्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । प्रशासनले सुरक्षा कारण देखाउँदै भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको उनले बताए । राजतन्त्र पुनस्र्थापनका लागि राप्रपाले बागमती प्रदेशस्तरीय आमसभा गर्न लागेको हो ।
‘हामीले भोलिको कार्यक्रम बल्खुमा गर्ने निर्णय गरेका छौं । राप्रपा शान्तिपूर्ण, अहिंसात्मक आन्दोलनको पक्षमा छ । हामी मुडभेड चाहँदैनौं’, राप्रपा प्रवक्ता श्रेष्ठले भने, ‘भोलिदेखि क्रमिक रूपमा आन्दोलन अगाडि बढाउँछौं । भोलिको प्रदर्शन÷सभालाई अध्यक्ष राजेन्द्र लिङदेनसहितका शीर्ष नेताले सम्बोधन गर्नुहुनेछ ।’
यसअघि चैत १५ गते राजावादीलेहरूले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । घटनामा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जन र प्रदर्शनकारीले लगाएको आगोमा परेर पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।
राजसंस्था र हिन्दुराष्ट्रको पक्षधर दल राप्रपा तीनकुने घटनामा पक्राउ परेका आफ्ना नेता–कार्यकर्ताको रिहाइको मागसहित केही दिनयता आन्दोलनरत छ ।
यस्तै, राप्रपा नेपालले आउँदो चैत २७ गतेको राजावादी कार्यक्रममा सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ । सोमबार काठमाडौंमा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
‘डा. जगमान गुरुङको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिले यही चैत २७ गते बुधवार आयोजना गर्ने प्रतिबद्धता सभालाई सफल बनाउन राप्रपा नेपालले सक्रिय सहयोग गर्नेछ । साथै, उक्त सभामा सहभागी हुन सबै राष्ट्रवादी साथीहरूलाई राप्रपा नेपाल आह्वान गर्दछ,’ बैठकको निर्णय छ ।
२७ गते राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा ‘प्रतिबद्धता सभा’को आयोजना गरेको छ ।





0 Comments