दाउन्नेमा सडक बन्द गरेर काम गरिने

दाउन्नेमा सडक बन्द गरेर काम गरिने

File Photo

नेपालगन्ज २३ चैत्र : नारायणगढ बुटवल सडकखण्डको दाउन्नेमा सडक विस्तारका लागि राजमार्ग बन्द गरिने भएको छ । आउने बर्खाभन्दा अगाडि नै राजमार्गमा सहज यात्राका लागि रातको समयमा सडक बन्द गरेर सडक विस्तारको काम गर्न लागिएको हो ।

सडक आयोजनाले यही चैत २७ गते देखि चैत ३१ गतेसम्म दिनको ११ बजेदेखि ३ बजे सम्म ५ घण्टा र २०८२ वैशाख १ गते देखि वैशाख १५ गतेसम्म रातिको ११ बजेदेखि बिहान ५ बजेसम्म ६ घण्टा अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गर्न लागिएको सडक आयोजनाले जनाएको छ ।

अत्यन्तै संवेदनशील र जोखिम क्षेत्र मानिने दाउन्नेमा पहाडको भित्ता काट्ने, पर्खाल लगाउने तथा कल्भर्टका कामहरू भैरहेका छन् । साँघुरो सडक र कामसमेत भैरहेकाले अहिले दैनिक जसो यात्रुहरूले दुःख पाइरहेका छन् ।

दाउन्ने खण्डको १३ किलोमिटर पार गर्न अहिले सवारी जामले ५ देखि ६ घण्टा लाग्ने गरेको छ । पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले सडक विस्तारको काममा पनि डिस्टर्व हुने र यात्रुले पनि दुःख पाउने अवस्था देखिएकोले बरु सडक नै बन्द गरेर काम गर्ने प्रस्ताव आयोजनाले गरे पछि दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसहित बसेर राजमार्ग बन्द गराएर बर्खा अगाडि सहज बनाउने निर्णय गरिएको बताए ।

ठेकेदार कम्पनीले रातको समयमा आवश्यक बत्तिको प्रबन्ध गरेर सडक विस्तारको कामलाई गति दिने विश्वास दिलाएको छ ।

Duduwa Tato hawa Bachau Image

दाउन्नेमा सरोकारवाला लगायत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र पश्चिम दुवै जिल्लाका समन्वय प्रमुखहरू, प्रमुख जिल्ला अधिकारी, बर्दघाट नगरपालिका प्रमुख, विनयी त्रिवेणी गाँउपालिका प्रमुख, दुवै योजनाका योजना प्रमुख, योजनाको परामर्शदाता, निर्माण व्यवसायी एवं सुरक्षा निकायका प्रमुखहरू समेतले सडक अनुगमन गरेका थिए ।