राप्ती नदी कटान नियन्त्रणका लागि ५० लाख विनियोजन

राप्ती नदी कटान नियन्त्रणका लागि ५० लाख विनियोजन

नेपालगन्ज २१ चैत्र : बाँकेको राप्तीसोनारी गाउँपालिका–७ स्थित खल्ला झगडिया र आसपासको क्षेत्रमा राप्ती नदीले तीव्र रूपमा गरिरहेको कटान नियन्त्रणका लागि लुम्विनी प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

तिव्र कटानका कारण नदी गाउँ पस्ने जोखिम बढेपछि लुम्बिनी प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले राप्तीनदी नियन्त्रणका लागि तत्काल तटबन्धनको काम अघि बढाउन ५० लाख रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरेको हो । 

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले राप्ती नदीको कटान नियन्त्रणलाई तत्काल सम्बोधन गर्न बजेट विनियोजन गरेको बाँके क्षेत्र नम्बर–१ का प्रतिनिधीसभा सदस्य सुर्य ढकालले जानकारी दिए । सांसद ढकालले भने,‘ सम्माननिय प्रधनमन्त्रीज्यू र मुख्यमन्त्री ज्यूको निर्देशनपछि तत्काल काम अघि बढाउन बजेट विनियोजन भएको छ , आगामी बजेटमा थप बजेट विनियोजन हुने आशा राखेका छौं । 

सांसद ढकालको आग्रहमा केही महिना पहिले मुख्यमन्त्री आचार्य राप्ती नदीको कटानको स्थलगत अनूगमन तथा निरीक्षणका लागि सो स्थानमा पुगेका थिए । यसअघि सांसद ढकालले कटान नियन्त्रणको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका थिए । भने संसदमा पटक–पटक सरकारको ध्यानाकर्षण गराएका थिए । कटान नियन्त्रणका लागि राज्यको ध्यानाकर्षण गराउन प्रतिनिधीसभा सदस्य ढकालको नेतृत्वमा स्थानीय बासिन्दाले प्लेकार्डसहित कटानस्थलमै प्रदर्शन समेत गरेका थिए । 

Duduwa Tato hawa Bachau Image

वर्षायाममा नदीमा पानीको बहाव बढेमा राप्तीसोनारीको वडा नम्बर–७ र नरैनापुर गाउँपालिका सम्पूर्ण रुपमा प्रभावित हुने भएकाले नदी कटान नियन्त्रणका लागि आवश्यक भएको ढकालको भनाइ छ । यसअघि सो ठाउँमा अस्थायी तटबन्ध भत्काएकोमा बजेट अभावले पुनः निर्माण नगरिएपछि फेरी कटान तिव्र भएको छ ।