आफ्नै नतिजा सुधार गर्दै भेरी अस्पताल

आफ्नै नतिजा सुधार गर्दै भेरी अस्पताल

नेपालगन्ज ८ चैत्र : न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा भेरी अस्पताल नेपालगन्जले यो वर्ष पनि आफ्नै नतिजामा सुधार गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखाले गर्ने देशभरिका विभिन्न अस्पतालहरूको मूल्यांकनमा भेरी अस्पतालले लगातार आफ्नो नतिजा सुधार गर्दै उत्कृष्टको लयमा छ । 

संघीय अस्पतालहरुमध्ये हालसम्म वीपी कोइराला राष्ट्रिय विज्ञान प्रतिष्ठान धरान, नारायणी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई भेरी अस्पतालले पछि पारेको छ । यी अस्पतालहरुमध्ये भेरी अस्पताल अहिलेसम्म उत्कृष्ट भएको छ । भेरी अस्पतालले यो वर्ष ८३ प्रतिशत अंक प्राप्त गरेको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अस्पतालको अनुगमन मूल्यांकन गर्न मन्त्रालयबाट खटिएको टोली संयोजक वीर अस्पतालकी प्रमुख अस्पताल नर्सिङ प्रशासक संगिता श्रेष्ठले जानकारी दिइन् ।

मूल्यांकनका क्रममा अस्पतालको लेखा प्रशासन, अस्पतालभित्र चल्ने क्लिनिकल सर्भिस, सपोर्ट सर्भिस, व्यवस्थापन पक्षलगायत सबै प्रकारको अवस्था हेरेर मूल्यांकन गरि उक्त अंक प्रदान गरिएको उनले बताइन् । मूल्यांकनका लागि मन्त्रालयले सहसचिवको नेतृत्वमा टोली अस्पतालमा आउने र त्यसैका आधारमा अंक दिने गरिएको छ । गत वर्ष भेरी अस्पताल ८० प्रतिशत अंक ल्याएर देशभरीका संघीय अस्पतालहरुमा उत्कृष्ट बनेको थियो । त्योभन्दा अगाडि पनि ७५ र ६७ प्रतिशत अंक ल्याएर देशभरकै उत्कृष्ट भएको थियो ।

लगातार तीन वर्षदेखि न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट बन्दै आएको भेरी अस्पताल यो वर्षपनि उत्कृष्ट बन्ने सम्भावना धेरै छ । बाँकी संघीय अस्पतालहरुको मूल्यांकनको काम चलिरहेकाले अन्तिम नतिजा आउन भने केही समय प्रतिक्षा गर्नुपर्ने श्रेष्ठले बताइन् । भेरी अस्पतालमा शुक्रबार आयोजित नतिजा प्रकाशन कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले अस्पतालले लगातार उत्कृष्ट अंक हासिल गर्नु अवसर र चुनौति दुवै भएको बताए । उनले गुणस्तरीय सेवाका लागि सुधार गर्नुपर्ने कुरा सुधार गरिने र सेवालाई थप विस्तार गरिने प्रतिवद्धता जनाए ।

Duduwa Tato hawa Bachau Image

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.निराजन सुवेदीले सबैको सहयोगले अस्पतालले यो उपलब्धी हासिल गरेको बताए । उनले जनशक्ति अभाव अस्पतालका लागि चुनौतिपूर्ण बनेको बताउँदै त्यसलाई क्रमशः समाधान गरिँदै लैजाने प्रतिबद्धता दिलाए । भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले न्यूनतम सेवा मापदण्डको नतिजाले हौसला प्रदान गरेको बताए ।

उनले अव क्वालिटी र सेफ्टी केयरमा सुधार गर्नु पर्ने आवश्यकता रहेको र त्यसका निमित्त पहल गरिने विश्वास दिलाए । कार्यक्रममा अस्पताल विकास समितिका सदस्यहरु डक्टप्रसाद धिताल, किरण आचार्य, समिर गुरुङ, अस्पतालका पूर्व मेसुहरु, विभागिय प्रमुखहरु, युनिट प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।

रेफरल अस्पतालका रूपमा रहेको भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीका लागि भरोसाको केन्द्र मानिँदै आएको छ ।