सवारी साधन कारबाहीबाट २९ लाखभन्दा बढी राजस्व सङ्कलन
- | अर्थ | नेपाखबर | अपराध–घटना
- ३ चैत २०८१, आइतवार
- नेपाखबर
नेपालगन्ज ३ चैत्र : जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ३६ सयभन्दा बढी सवारीसाधन कारबाही गरी २९ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
प्रहरीले गत फागुन महिनामा मात्र नियमविपरीत रहेका तीन हजार ६१४ वटा विभिन्न सवारीसाधनलाई कारबाही गरेको जनाएको छ । उक्त सवारीसाधन कारबाही गरेर २९ लाख ११ हजार पाँचसय रुपैयाँ जरिवाना गराई राजस्व सङ्कलन गरिएको हो ।
प्रहरीले फागुनमा १४ लाख ७१ हजार ८७५ रुपैयाँ बराबरको अवैध भन्सार छलीको सामानसहित तीन जना व्यक्ति र चारवटा मोटरसाइकल बरामद गरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको जनाएको छ । त्यसैगरी अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने चारवटा टिप्पर र दुईवटा ट्याक्टर नियन्त्रणमा लिएर सम्बन्धित निकायमा पठाएर ४८ हजार रुपैयाँ जरिवाना गराइएको जानकारी दिएको छ ।
अवैधरुपमा भारतबाट ल्याइएका तीन लाख ७६ हजार ८१० रुपैयाँ मूल्य बराबरको ब्रोइलर कुखुरा र मासु बरामद गरी आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज पठाइएको छ ।
त्यसैगरी फागुन महिनामा प्रहरीले विभिन्न अपराधसम्बन्धी एकसय ३१ वटा मुद्दा दर्ता गरेको छ । उक्त मुद्दामा संलग्न एकसय दुई जना व्यक्तिलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको छ ।
१५ वर्ष २ महिना १८ दिन कैद सजाय तोकिएका ६५ जना फरार अपराधीलाई पक्राउ गरिएको र उनीहरुबाट चार लाख ३५ हजार ५५ रुपैयाँ जरिवाना असुल गरिएको छ । यस समयावधिमा ६५ वटा पेण्डिङ मुद्दाहरु फछ्र्योट गरिएको छ । चारसय १४ वटा ठाडो उजुरी दर्ता भएकोमा तीनसय ९६ वटा उजुरी फछ्र्योट गरिएको र १८ वटा उजुरी फछ्र्योट प्रक्रियामा रहेको छ ।
हराएका तीनवटा मोटरसाइकल र एउटा साइकल, १२ थान आइफोन र एन्ड्रोइड मोबाइल फोन फेला पारी सम्बन्धितलाई बुझाइएको छ । लागुऔषध ओसारपसारविरुद्ध योजनाबद्धरुपमा प्रहरी परिचालन गरी एक किलो १०६ ग्राम ४१६ मिलिग्राम ब्राउनसुगर, ट्रामाडोल पाँच हजार ट्याब्लेट र चार किलो २०० ग्राम चरेससहित उक्त कार्यमा संलग्न २२ जनालाई कानूनी दायरामा ल्याइएको छ ।
महिला बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान–कारबाहीतर्फ १५ वटा मुद्दा दर्ता भएकोमा संलग्न ११ जनालाई पक्राउ गरिएको छ । प्रहरीकाअनुसार घरेलु हिंसासम्बन्धी ३१ वटा उजुरी दर्ता भएकोमा २४ वटा उजुरीमाथि छानबिन गरी फछ्र्योट गरिएको र बाँकी अनुसन्धानका क्रममा रहेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएका सम्बन्धमा ४६ वटा निबेदन दर्ता भएको र १५ जना फेला पारी अभिभावकको जिम्मा लगाइएको र बाँकीको खोजतलास जारी रहेको, सिमा नाकाबाट ८१ जना महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरुको उद्दार गरिएको र अलपत्र अवस्थामा १५ जनालाई फेला पारी संरक्षणका लागि सम्बन्धित संस्थामा पठाइएको प्रहरीले जनाएको छ ।
समुदाय प्रहरी सहकार्यतर्फ लैङ्गिक हिंसा, लागुऔषधसम्बन्धी सचेतना, आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतना, अल्पसंख्यकसँग प्रहरी, नागरिक सुनवाइ, समुदाय प्रहरी साझेदारी, साइबर अपराध र चोरीसम्बन्धी सचेतना लगायतका १६० वटा विभिन्न सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाइटसहित २५१ वटा ट्राफिकसम्बन्धी सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको छ । आन्तरिक सुदृढीकरण प्रयासतर्फ उत्कृष्ट कार्य गर्ने १४ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको र आचरणविपरीत कार्य गर्ने ३ जना प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको छ ।





0 Comments