आजबाट ‘अञ्जिला’ र ‘आउटलः दफा २१९’ प्रदर्शनमा

आजबाट ‘अञ्जिला’ र ‘आउटलः दफा २१९’ प्रदर्शनमा

नेपालगन्ज २९ फाल्गुन : फागु पूर्णिमाको अवसर पारेर आजबाट दुई नेपाली चलचित्रहरू ‘अञ्जिला’ र ‘आउटलः दफा २१९’ प्रदर्शनमा आएको छ । दुई भिन्न जनरा र कथामा निर्माण भएका यी दुवै चलचित्रलाई हलबाट सुखद शो प्राप्त भएको छ।

‘अन्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र हो। चलचित्रमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् ।

चलचित्रको छायाङ्कन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको हो । चलचित्रमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ ।

गत सोमबार काठमाडौंमा चलचित्रको भव्य प्रिमियरको आयोजना गरिएको थियो । चलचित्रमा एन्जिलाको साथमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकार छन् । चलचित्रलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् ।

त्यस्तै, आजैबाट प्रदर्शनमा अर्को चलचित्र ‘आउटलः दफा २१९’ एक्सन जनरामा निर्माण भएको चलचित्र हो। एक गम्भीर मुद्दालाई उठान गरेको चलचित्रमा नायक सुशील श्रेष्ठ मुख्य भूमिकामा छन् । विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई अमित अग्रहरिले निर्माण गरेका हुन् ।

चलचित्रमा चुल्ठे काजीको एक्सन र साहिल खानको सम्पादन छ । चलचित्रमा नायक सुशील श्रेष्ठसँगै शिक्षा संग्रौला, नरेश पौडेल लगायतका कलाकारहरूको अभिनय छ । यो चलचित्रले पनि हलमा सुखद शो प्राप्त गरेको छ ।

Duduwa Tato hawa Bachau Image

आज होलीको सार्वजनिक बिदा भएकाले दुवै चलचित्रले आज बिदाको फाइदा उठाउन सक्छन् । दुई भिन्न जनरामा बनेका चलचित्र भएकाले दर्शकले रुचाएको खण्डमा दुवै चलचित्रले बक्स अफिसमा राम्रो गर्न सक्छन् ।

अनलाइन बुकिङ दुवै चलचित्रको मध्यम छ । दुवै चलचित्रलाई बलियो वर्ड अफ माउथको जरुरी छ । दर्शकले चलचित्रको कथा रुचाए, वर्ड अफ माउथ पनि बलियो हुनेछ । यी दुई चलचित्रले कस्तो व्यापार गर्छ, त्यो हेर्न भने केही दिन कुर्नुपर्नेछ ।