‘हरेक परिवर्तनमा महिलाको योगदान’ प्रदेश सांसद केसी

‘हरेक परिवर्तनमा महिलाको योगदान’  प्रदेश सांसद केसी

बाँके(राप्ती सोनारी) २४ फाल्गुनः लुम्बिनी प्रदेशका सांसद कृष्णा केसी ‘नमुना’ले हरेक परिवर्तनमा महिलाको योगदान रहेको बताएकी छन् । ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस–२०८१ को सन्दर्भमा राप्ती सोनारी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । 

गाउँ–गाउँमा महिलालाई सशक्तीकरण गर्न अझै आवश्यक रहेको उनले बताइन् । यसका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गरेर अगाडी बढ्नुपर्नेमा जोड दिइन् । ‘महिलालाई सशक्तीकरण गर्नका लागि प्रदेशको तर्फबाट सहकार्य र समन्वय गर्न म तयार छु,’ उनले भनिन् । 

यस्तै गाउँपालिका अध्यक्ष एवम विशिष्ट अतिथी तप्तबहादुर पौडेलले कानूनले महिला र पुरुषलाई बराबर अधिकार दिएको बताए । राप्ती सोनारी क्षेत्रमा महिलालाई अगाडी बढाउने र सशक्तीकरण गराउने खालका कार्यक्रम ल्याउन गाउँपालिका तयार रहेको बताए । 

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

महिलाले अधिकार पाएकै कारण देशले पहिलो पटक महिला राष्ट्रपति, पहिलो सभामुख, पहिलो प्रधानन्यायाधिश पाईसकेको उल्लेख गर्दै अध्यक्ष पौडेलले महिलाले अवसर नपाएको भन्न नमिल्ने धारणा राखे । राप्ती सोनारीमा महिलालाई अगाडी बढाउन सबै लाग्नुपर्नेमा जोड दिए । 

गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर एडी, नेपाली काँग्रेसकी नेतृ सुशीला थारु, नेकपा एमाले राप्ती सोनारी उपाध्यक्ष सुधा चौधरी, राप्ती सोनारी गाउँपालिका शिक्षा समितिका सदस्य खुमा डाँगी, बि.गु्रपकी प्रतिनिधी राजकुमारी थारु, स्थानीय मानव अधिकार सञ्जालकी अध्यक्ष धनी ओली, जय बागेश्वरी बाल असहाय केन्द्र राप्ती सोनारीका अध्यक्ष तारा ओली लगायतले पनि बोलेका थिए । 

महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख सम्झना दलामीले सञ्चालन गरेको उक्त कार्यक्रममा राप्ती सोनारी गाउँपालिका कार्यपालिका सदस्य राधिका सुनारले स्वागत गरेकी थिइन् ।  

Duduwa Tato hawa Bachau Image

सोही कार्यक्रममा बक्ततृत्वकला प्रतियोगिता र १ सय मिटर दौड प्रतियोगिता पनि गरिएको थियो । ‘विकासमा महिला सहभागिताको महत्व’ विषयक बक्ततृत्वकला प्रतियोगितामा ६ जना प्रतियोगीले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा लक्ष्मी सिंह पहिलो, अञ्जना विष्ट दोस्रो, भावना बिष्ट तेस्रो र झुपा विष्ट चौथो भएकी थिइन् ।

यस्तै १ सय मिटर दौड प्रतियोगितामा रुपा कुमारी थारु पहिलो, विमला घर्ती दोस्रो,  सुमिता कुमारी थारु तेस्रो र स्मृति केसी तथा सुस्मिता घर्ती सान्त्वना भएको शाखा प्रमुख दलामीले जानकारी दिइन् । उक्त कार्यक्रमअघि राप्ती सोनारी गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा निकालिएको र्यालीले बाजागाजा सहित गाउँपालिका हुँँदै अगैया बजार परिक्रमा गरेको थियो ।