डुडुवाबाट तीन टिपर नियन्त्रणमा
- | नेपाखबर | अपराध–घटना
- २२ फागुन २०८१, बिहिवार
- नेपाखबर
नेपालगन्ज २२ फाल्गुन : बाँके डुडुवामा रातको समयमा अवैधरुपमा नदीजन्य पदार्थ ओसारपसार गर्दै गरेका तीन वटा टिपरलाई नियन्त्रणमा लिइएको छ ।
डुडुवा गाउँपालिका–४ स्थित राप्ती पुल भएर नदीजन्य पदार्थ बोकेर आउँदै गरेका तीन वटा टिपरलाई सशस्त्र प्रहरीको खडैंचा बिओपी र डुडुवा गाउँपालिकाको नगर प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बाँकेले जानकारी दिएको छ ।
सशस्त्र प्रहरीका अनुसार गएराति साढे ९ बजे राप्तीसोनारीबाट अवैधरुपले चोरी पैठारी गरेर ल्याउँदै गरेका ती टिपरहरुलाई जाँच गर्ने क्रममा कुनै पनि बिल नभएको पाइएपछि नियन्त्रणमा लिइएको थियो ।
चेकजाँचमा खटिएको संयुक्त टोलीले भे १ ख १७७५,२२६३ र २२८९ नम्बरका टिपरलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
नियन्त्रणमा लिइएका सबै टिपरलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुझाइएको इलाका प्रहरी कार्यालय कम्दीले जानकारी दिएको छ ।
बाँकेमा हाल नदीजन्य पदार्थ उत्खननको ठेक्का प्रक्रिया शुरु भए पनि कुनै पनि सवारीसाधनले रातमा ढुवानी गर्न नपाइने प्रावधान रहेको छ । यस्तो अवस्थामा रातमा बिलसहित नदीजन्य पदार्थ लिएर आएको सवारीसाधनलाई सुरक्षाकर्मी वा सम्बन्धित निकायले रोक्न सक्ने बताइएको छ ।





0 Comments