कारबाहीको पत्रपछि पुल निर्माण तीव्र

कारबाहीको पत्रपछि पुल निर्माण तीव्र

नेपालगन्ज १८ फाल्गुन : बाँकेको जानकी गाउँपालिका–४, छत्रपुर र खजुरा गाउँपालिका–४, चल्तुवास्थित किरण नालामा निर्माणाधीन पुलको कामले गति लिएको छ । 

निर्माण व्यवसायीको जमानत रकम २६ लाख ८० हजार रुपैयाँ बैङ्कबाट झिक्न पत्र पठाउँदै सडक पूर्वाधार विकास कार्यालयले अन्य कारबाहीको चेतावनी दिएपछि कामले तीव्रता पाएको छ । 

पुल निर्माण काम सम्झौता अनुसार दुई वर्ष पहिले नै सम्पन्न हुनुपर्ने थियो । निर्माण व्यवसायीको ढिलाई र त्यसमा कर्मचारीले समयमै उचित निर्णय लिन नसक्दा पुल निर्माण कार्यमा ढिलाइ भइरहेको थियो । 

अहिले भने पुल निर्माण कार्यले गति लिएको छ । लुम्बिनी प्रदेशको सडक पूर्वाधार विकास कार्यालय नेपालगन्जले निर्माण व्यवसायीले असार मसान्तभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित अहिले निर्माणमा तीव्रता दिएको जनाएको छ । 

पुल निर्माणका लागि निर्माण व्यवसायीको ढिलाइसँगै जमिनमुनि निर्माण गरिएको पायल फाउन्डेसनको काम गुणस्तरीय नभएको आशङ्का भएपछि काम अघि बढ्न सकेको थिएन । 

सडक पूर्वाधार विकास कार्यालयले फाउन्डेसनको अढाई मिटरभित्रसम्म खोलेर गरिएको परीक्षणमा फाउन्डेसनको काम गुणस्तरीय पाएपछि निर्माण व्यवसायीलाई काम शुरु गराउन भनेको छ । माथिल्लो भागमा कमजोरी देखिएपछि भित्री भाग गुणस्तरीय पाइएको कार्यालयले जनाएको छ । 

कार्यालय प्रमुख दीपक खड्काले निर्माण व्यवसायीको जमानत रकम २६ लाख ८० हजार रुपियाँ बैङ्कबाट झिक्न पत्र पठाउँदै अन्य कारबाहीको चेतावनी दिएपछि कामले तीव्रता पाएको बताए ।

Duduwa Tato hawa Bachau Image

दुई वर्षपछि पुल निर्माण तीव्र रूपमा अघि बढेपछि अब पुल बन्ने आशा स्थानीयमा पलाएको छ । पुल निर्माणका लागि गाल्वा सिद्धार्थ दर्शन जेभीले २०७७ फागुन १९ गते पाँच करोड ३२ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हो । 

एक महिनाअघि भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले यो पुलको स्थलगत निरीक्षण गरी तत्काल काम अघि बढाउन निर्देशन दिएका हुन् ।