‘नीति र नियतका कारण अप्ठ्यारो अवस्था सिर्जना’ : महामन्त्री थापा

‘नीति र नियतका कारण अप्ठ्यारो अवस्था सिर्जना’ : महामन्त्री थापा

नेपालगन्ज १८ फाल्गुन : नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस–एमाले गठबन्धन सरकारको ध्यान संविधान कार्यान्वयनमै केन्द्रित रहेको बताएका छन् ।

काँग्रेस सम्बद्ध पेशागत तथा बुद्धिजीवी विभाग र नेपाल डेमोक्याट्रिक लयर्स एसोसिएसनले नेपालगन्जमा शनिबार आयोजना गरेको ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयक लुम्बिनी प्रदेश स्तरीय अन्तरक्रियालाई सम्बोधन गर्दै उनले भने, ‘काँग्रेस र एमालेको गठबन्धनको सरकार बनाउँदै गर्दा प्राथमिकताको विषय संविधान कार्यान्वयनसँग जोडिएका कानूनहरू बनाउनुपर्ने छ, ती कानून एकदमै छिटो बनाउनुपर्नेछ, कतिपय कानुनहरू खारेज गर्नुपर्नेछ, कतिपय कानून हाम्रो संविधानसँग बाझिएका छन् ।’

संविधान कार्यान्वयनसँग सम्बन्धित जति पनि कामहरु गर्दा तत्कालीन प्रधानमन्त्री एवम् संविधान पिता स्वर्गीय सुशील कोइरालालाई एक पटक स्मरण गर्नुपर्ने महामन्त्री थापाले बताए ।

काँग्रेसको नेतृत्वमा शान्ति प्रक्रिया टुंगोमा पुगेसँगै संविधान बनेको र कार्यान्वयन पनि भएकाले संविधान संशोधनमा पनि काँग्रेसले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने अवस्था आएको उनको भनाई छ ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image


संविधान घोषणासँगै बनेका नीति र कतिपय नियतका कारण अप्ठ्यारो अवस्था सिर्जना भएको प्रतिनिधि सभाका सांसद समेत रहेका महामन्त्री थापाले बताए ।

‘हामीले बनाएका नीतिहरू वा नबनाएका नीतिका कारण अप्ठ्यारा परिस्थिति सिर्जना भएका छन् वा हाम्रो नियतका कारणले गर्दा अप्ठ्यारा सिर्जना भएका छन्,’ उनले भने ‘त्यसको भारी संविधानलाई मात्र बोकाइदिएर हुँदैन, नीति र नियतका कारण सिर्जना भएका समस्याको समाधान हामी संविधानबाट खोज्छौँ । त्यो संविधानबाट खोजेर हुँदैन, त्यसलाई हामीले नीति वा नियतबाट खोज्नुपर्छ, संविधान संशोधनको बहसमा यो कुरा प्रष्ट हुन आवश्यक छ ।’

संविधान संशोधन हुँदै गर्दा निर्वाचन प्रणाली, सङ्घीयता, प्रदेशका अधिकारका हेरफेर गर्ने विषयमा व्यापक छलफल हुनुपर्ने उनको भनाई छ ।

सो क्रममा काँग्रेस सहमहामन्त्री किशोरसिंह राठौंर, केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, सहमहामन्त्री एवम् प्रदेश सांसद निमा गिरी, काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल लगायतले पनि आफ्नो धारणा राखेका थिए ।

Duduwa Tato hawa Bachau Image

नेपाली काँग्रेस पेशागत तथा बुद्धिजीवी विभागका संयोजक एवम् काँग्रेस केन्द्रिय सदस्य डा. डिला संग्रौलाको अध्यक्षतामा भएको अन्तरक्रियामा संविधान विद् काशिराज दाहालले नागरिक स्तरबाट विशेषगरी निर्वाचन प्रणाली, समावेशिता, प्रादेशिक संरचनाको विषयमा पुनरावलोकन तथा कामको समीक्षा गरेर संविधान संशोधन गरिनुपर्ने सुझाव आएको बताए । ‘हामीले प्राप्त भएका सबै राय, सुझावलाई टिपोट गरेर बुझाउनेछौँ,’ उनले भने ।

यसअघि नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई नेपालगन्जमा भब्य स्वागत गरिएको थियो । नेपालगन्ज बिमानस्थलमा ठुलो संख्यामा उपस्थित भएका नेता तथा कार्यकर्ताले उनलाई भब्य स्वागत गरेका थिए । काँग्रेसका नेता तथा कार्यकर्ताहरु ठुलो संख्यामा बिमानस्थलमा उपस्थित भएका थिए ।

महामन्त्री थापालाई पञ्चेबाजा सहित मोटरसाईकल ¥यालीले नेपालगन्जको भेरी प्राविधिक शिक्षालयसम्म ल्याएको थियो ।