सञ्चालनमा आयो कोहलपुरमा ‘प्रहरी पेट्रोल पम्प’
कोहलपुर १२ फाल्गुन : नेपाल प्रहरीका प्रमुख आइजीपी वसन्त बहादुर कुँवरले बाँकेको कोहलपुरस्थित प्रहरीको पेट्रोल पम्पको उद्घाटन गरेका छन् ।
प्रहरी कल्याणकारी कोषबाट सञ्चालनमा ल्याइएको प्रहरी पेट्रोल पम्पको प्रहरी प्रमुख कुँवरले सोमबार बिहान उद्घाटन गरेका हुन् । पेट्रोल पम्प उद्घाटन गर्दै कुँवरले कोहलपुरमा थपिएको नयाँ प्रहरीको पेट्रोल पम्पले जनतालाई सहज सेवा दिने बताए । साथै प्रहरी प्रमुख कुँवरले बाँकेभर रहेका प्रहरी कर्मचारीहरुलाई इमान्दारिताका साथ कार्य गर्न निर्देशन समेत दिए ।
बाँके प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीको स्वागत मन्तब्यबाट शुरु भएको उद्घाटन कार्यक्रममा प्राविधिक डीएसपी इन्जिनियर रोशन सारुले निर्माण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका प्रमुख प्रशान्त बिष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल लगायतले आफ्नो भनाई राख्दै पेट्रोल पम्पले सहज रुपले जनतालाई सेवा दिने विश्वास व्यक्त गरेका थिए ।
पेट्रोल पम्प उद्घाटनमा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल, लुम्बिनी प्रदेश प्रहरी अस्पतालकी प्रमुख एसएसपी दिपा न्हुच्छे प्रधान, एसएसपी राजेन्द्र प्रसाद धमला, बाँकेका सुरक्षा निकायका प्रमुख, पूर्व प्रहरी कर्मचारी, नेपाल पेट्रोल एसोसियसनका अध्यक्ष, नेपाल पत्रकार महासंघ बाँकेका प्रतिनिधि, बिभिन्न स्थानीय तहका जनप्रतिनिधि, बिभिन्न संघसंस्थाका प्रमुख एवं पदाधिकारी, मिडियाकर्मी लगायतको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी दानबहादुर कार्कीले प्रहरी प्रमुख कुँवरलाई कृतज्ञताको चिनो प्रदान गरेका थिए ।





0 Comments