बाँकेमा एमालेको जरा अभियान

बाँकेमा एमालेको जरा अभियान

नेपालगन्ज ९ फाल्गुन : नेकपा (एमाले) बाँकेले सङ्गठन विस्तारका लागि वडा केन्द्रित अभियान जरा अभियान शुरु गरेको छ । 

फागुन ६ र ७ गते बैजनाथको गाभरमा सम्पन्न दुई दिने जिल्ला कमिटीको बैठकको निर्णय अनुसार वडा हुँदै टोलसम्म जरा अभियान चलाइने एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिए ।

बिहीबार पार्टी सङ्गठित सदस्यको नवीकरणबाट तीन महिने जरा अभियानको सुरुवात गरिएको हो । अभियान अन्तर्गत शुक्रबार ३ वटै निर्वाचन क्षेत्रीय समन्वय कमिटीको पूर्ण बैठक सम्पन्न भएका छन् ।

एमाले बाँकेका अध्यक्ष गुरुङले भने, ‘जरा अभियानअन्तर्गत एमालेका नेता तथा कार्यकर्ता जनताको घरघरमा पुग्दै छन्, विभिन्न कारणले पार्टीमा जिम्मेवार बिहिन अधिकांशलाई जिम्मेवारी दिइएको छ ।’

एमाले बाँकेका उपाध्यक्ष रत्न खत्रीले जरा अभियानअन्तर्गत जनताको घरमा गएर उनीहरूसँग भेट गरेर समस्या बुझ्ने र समाधानको पहल गर्ने नीति लिइएको जानकारी दिए । अभियानमा सरसफाइ, रक्तदान, पार्टी र राष्ट्रियतासम्बन्धी हाजिरीजवाफ, गाउँ÷टोलको समस्या समाधानका लागि छलफल लगायतका गतिविधि आयोजना हुने भएको छ ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

जरा अभियानअन्तर्गत निर्वाचन क्षेत्रीय, प्रदेश समन्वय, पालिका, वडा हुँदै टोल कमिटी सम्मको बैठक बसेर अभियानको योजना बनाउने एमाले बाँकेका उपसचिव किशोर थापाले बताए ।

Duduwa Tato hawa Bachau Image

अभियानमा केन्द्रिय सदस्यहरू शान्ति ढकाल, सूर्य ढकाल, मो. हारुन, दिपा शर्मा, पशुपतिदयाल मिश्रा, लेखा आयोगका सदस्य विजया धिताल, अनुशासन आयोगका सदस्य देवराज भार, केन्द्रीय सल्लाहकार दलबहादुर सुनार, बाबुराम गौतम, नन्दलाल रोकाय पनि खटिएको एमाले बाँकेले जनाएको छ ।