गैरराज्य पक्षबाट मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटना बढे

गैरराज्य पक्षबाट मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटना बढे

नेपालगन्ज ७ फाल्गुन : नेपालमा वर्षेनी गैरराज्य पक्षबाट मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटना बढ्दै गएको पाइएकोछ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले हरेक वर्ष सार्वजनिक गर्दै आएको मानव अधिकार वर्षपुस्तकमा दर्ज भएको उक्त तथ्यांकले यस्तो देखाएको हो । 

७५ औं प्रजातन्त्र दिवसका सन्र्दभमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जले बुधबार नेपालगन्जमा वर्षपुस्तक सार्वजनिक गर्दै देशभर गैरराज्य पक्षबाट मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटना बढेको तथ्यांक प्रस्तुत गरेको छ । 

अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा गैरराज्य पक्षबाट मानवअधिकार उल्लङ्घन र ज्यादतीको घटना थप बढेर आएकोछ । गत वर्षको भन्दा यस वर्ष एक हजार ३ सय ६ ले घटना बढेको हो ।

इन्सेकले गरेको अभिलेख अनुसार सन् २०२४ मा कुल १० हजार ७ सय ३४ जना पीडित भएकाछन् । यसमा राज्यपक्षबाट ४ सय ५८ जना पीडित हुँदा गैरराज्य पक्षबाट १० हजार २ सय ७६ जना पीडित भएका हुन् । 

यसअघि सन् २०२३ मा ९ हजार ४ सय २८ जना मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट पीडित भएका थिए । जसमा राज्यपक्षबाट ९ सय ९२ जना पीडित हुँदा गैरराज्य पक्षबाट ८ हजार ४ सय ३० जना पीडित भएका थिए । 

वर्षेनी गैरराज्य पक्षबाट मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटना बढ्दै गएपछि बाँकेका सम्बद्ध सरोकारवालाहरुले चिन्ता र चासो दर्शाएकाछन् । उनीहरुले मानवअधिकारको संरक्षण र यसको पालनामा कठोर कदम चाल्न समेत आग्रह गरेकाछन् ।

लुम्बिनी प्रदेशमा समेत गैरराज्य पक्षबाट मानवअधिकार उल्लङ्घन र ज्यादतीको घटना बढेको इन्सेकद्वारा सार्वजनिक वर्षपुस्तकले देखाएकोछ । 

इन्सेकले गरेको अभिलेख अनुसारा सन् २०२४ मा लुम्बिनी प्रदेशमा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा २ हजार २ सय ७१ जना पीडित भए । गर्त वर्ष अर्थात सन् २०२३ मा २ हजार ८३ जना पीडित भएका थिए । 

सन् २०२४ मा राज्यपक्षबाट मानवअधिकार उल्लङ्घनका घटनामा ६ जना महिला र २५ पुरुष गरि ३१ जना तथा ज्यादतीका घटनामा गैरराज्य पक्षबाट २ हजार १ सय ६२ जना महिला र ७८ जना पुरुष सहित २ हजार २ सय ४० जना पीडित भएकाछन् । 

यसैगरी यो वर्ष राज्यपक्ष अन्तर्गत भएका मानवअधिकार उल्लङ्घन अन्तर्गत कारागारमा रहेका एक जना पुरुषको स्वास्थ्य समस्या लगायतका कारण मृत्यु हुँदा दुई जना पुरुषको हिरासतमा मृत्यु भएकोछ । साथै कुटपिटका घटनामा दुई जना, बालिका बलात्कारमा दुई जना, अमानवीय व्यवहारमा दुई जना र घाईते २२ जना गरि ३१ जना पीडित भएकाछन् । 

यस वर्ष गैरराज्य पक्षबाट २ हजार २ सय ४० जना पीडित भएको इन्सेकले अभिलेख गरेको छ । जसमा अपहरण घटनामा सात जना, बालअधिकारमा ३ सय ३१ जना, अमानवीय व्यवहार घटनामा ३२ जना, कुटपिट घटनामा १५ जना, महिला अधिकारमा १ हजार ७ सय ९१ जना, जातीय विभेद घटनामा दुई जना, घाईते घटनामा १० जना, धम्की घटनामा १२ जना, हतया घटनामा ३८ जना र आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार(सम्पत्तिको अधिकारबाट बञ्चित) बाट दुई जना पीडित भएको उक्त वर्ष पुस्तकमा अभिलेखछ । 

महिला अधिकारसँग सम्बन्धित घटनामा सन् २०२४ मा लुम्बिनी प्रदेशमा एक हजार ७ सय ९१ जना पीडित भएको इन्सेकले जनाएकोछ । यस वर्ष महिला बेचबिखनका घटनामा १८ जना, महिला बेचबिखन प्रयासका घटनामा चार जना, घरेलु हिंसाका घटनामा एक हजार ५ सय ८४ जना, दाइजो जनित हिंसा घटनामा दुई जना, कथित बोक्सीको आरोपमा तीन जना, परिवाजनबाट हत्या घटनामा १३ जना, साइबर अपराध घटनामा एक जना, बलात्कार घटनामा एक सय २९ जना, सामुहिक बलात्कार घटनामा ११ जना, हाडनाता करणीमा तीन जना, वैवाहिक बलात्कार घटनामा एक जना, बलात्कार प्रयास घटनामा १५ जना र यौन दुव्र्यवहार घटनामा सात जना गरि जम्मा एक हजार ७ सय ९१ जना पीडित भएको इन्सेक वर्ष पुस्तकमा अभिलेख छ । 

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

त्यसैगरी यस वर्ष बाल अधिकार उल्लङ्घनका घटनामा ३ सय ३३ जना पीडित भएकाछन् । जसमध्ये बालविवाह घटनामा १४ जना, बालबालिका बेचविखन घटनामा १२ जना, विद्यालयमा दिइने शारीरिक सजाय घटनामा चार जना, बलात्कार घटनामा राज्य पक्षबाट दुई जना र गैरराज्य पक्षबाट एक सय ९५ जना गरी एक सय ९७ जना, सामुहिक बलात्कार घटनामा २० जना, हाडनाता करणी घटनामा १० जना र यौन दुव्र्यवहार घटनामा ७६ जना पीडित रहेका छन् । 

इन्सेकले यस वर्षको पुस्तकमा वातावरणीय अधिकारहरुलाई समेत समावेश गरेकोछ । जसमा दाङमा सिमेन्ट कारखानाले वातावरण तथा अन्य क्षेत्रमा पारेको प्रभाव उल्लेख गरिएकोछ ।

वर्ष पुस्तकमा चुनढुंगा बोकेको उच्चभारसहितका टिप्परका कारण कालोपत्रे उत्रिएर कच्ची सडकमा परिणत भएका छन् भने धुलाम्य सडकले खेतीपातीमा समस्या सिर्जना भएको उल्लेख छ ।

अझ उद्योग क्षेत्रका स्थानीयहरू ध्वनी, धुलो र धुवाँले समस्या ग्रस्त भएकाछन् । रातमा धुलो धुवाँ नदेखिने भएकाले सिमेन्ट उद्योगले रातीको समयमा पूर्ण क्षमतामा उद्योग चलाउँदा धुलो र ध्वनीले आसपासमा सुत्न समेत समस्या भएको वर्ष पुस्तकमा उल्लेख छ ।

बालिनाली उत्पादनमा ह्रास आएको छ भने क्षयरोगका बिरामी बढेको पाइएको छ । स्थानीयले विरोध गरे पनि उनीहरूको कुनै सुनुवाई हुन सकेको छैन । यसबारेम सार्वजनिक सरोकार कानून व्यवसायी समूह, नेपालगन्जले पनि पीडितको अधिकारका लागि वकालत गरिरहेको छ ।

Duduwa Tato hawa Bachau Image

ईन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले स्वच्छ वातावरण रहन पाउने नागरिकको अधिकार भएकोले सिमेन्ट उद्योगले पारेको प्रभावको विषय वर्ष पुस्तकमा समेटिएको बताए । उनका अनुसार, महाभारत पहाड उत्खनन् गर्दा चुनढुंगाको क्षतिले खोलामा पानी सुक्न थालेका छन् भने चुनढुंगा खानी उत्खनन्ले दाङको बंगलाचुली क्षेत्रका बासिन्दा घरबास नै समस्यामा परेका छन् ।

सन् १९९२ देखि नेपाल मानवअधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको इन्सेकले आफ्नो पुस्तकमा मुख्यतया परिच्छेद र अनुसूची गरि दुई भागमा उक्त घटनाहरुको अभिलेखिकरण गर्दै आएकोछ । 

परिच्छेदमा मानवअधिकार सम्बन्धि समसामयिक विषहरु जस्तै निर्वाचन, संघीयता र मानवअधिकारसित प्रत्येक्ष सरोकार राख्ने निकायहरुका समाचार र सूचनाहरु समाबेस गरिएको हुन्छ । भने अनुसूचीमा देशका विभिन्न स्थानहरुमा भएका मानवअधिकार सम्बन्धी सम्पूर्ण घटनाहरु, मानवअधिकार हनन्, हत्या–हिंसा, यातना, भेदभाव जस्ता विषयहरुको तथ्यांकसहित सूचनाहरु छापिने गर्दछ । यी सूचनाहरु मुख्यतया इन्सेक जिल्ला प्रतिनिधीहरुले स्थलगत रुपमा संकलन गरेर तयार पारेका विषयगत प्रतिवेदन र सम्बन्धित निकायबाट प्राप्त तथ्यको आधारमा प्रकाशित गरिन्छ । 

इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जका संयोजक भोला महतको सभाध्यक्षमा भएको उक्त वर्षपुस्तक सार्वजनिक कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्की, राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जकी प्रमुख द्वारिका अधिकारी, वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठले आफ्ना धारणा राखेका थिए ।