प्रकृति लम्साल मृत्यु प्रकरण : आरोपित विद्यार्थी र दुई गार्डविरुद्ध मुद्दा दर्ता

एनओसी रोक्ने सरकारको चेतावनी
प्रकृति लम्साल मृत्यु प्रकरण : आरोपित विद्यार्थी र दुई गार्डविरुद्ध मुद्दा दर्ता

नेपालगन्ज ६ फाल्गुनः भारतको ओडिसा राज्यस्थित एक विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्साल मृत्युको विषयमा हालसम्म तीन जना पक्राउ परेका छन् । आत्महत्या दुरुत्साहनको आरोपमा एक जना र नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गर्ने दुई जना गार्ड पक्राउ परेका हुन् ।

आईतबार केआईआईटी विश्वविद्यालयकी कम्प्युटर साइन्सको तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्सालको मृत्यु भएको थियो । सोही घटनाको निष्पक्ष छानबिनको माग राख्दै नेपाली विद्यार्थीहरू आन्दोलित भएका थिए ।

आन्दोलनको क्रममा विद्यार्थीलाई कुटपिट गर्ने विश्वविद्यालयका सुरक्षा गार्डलाई स्थानीय इन्फोसिटी प्रहरी चौकीमा मुद्दा दर्ता गरिएको छ । स्थानीय पुलिस कमिश्नरेटः भुवनेश्वर कटकेद्वारा जारी विज्ञप्तिअनुसार दुई सुरक्षा गार्डहरू रामकान्त नायक (४५ वर्ष) र जोगेन्द्र बेहेरा (२५ वर्ष)लाई पक्राउ गरेर मुद्दा दायर भएको छ ।

प्रहरीका अनुसार प्रकृतिका दाई सिद्धान्त सिग्देलले इन्फोसिटी प्रहरी चौकीमा उजुरीको आधारमा २१ वर्षीय अध्विक श्रीवास्तवलाई समेत पक्राउ गरिएको छ । सिग्देलको उजुरीपछि १६ फेब्रुअरीमा मुद्दा दर्ता गरेर सोहीदिन पक्राउ गरेको जनाइएको छ ।

भारतीय नयाँ दण्ड संहिताअन्तर्गत आत्महत्याका लागि दुरुत्साहन पक्राउ परेका श्रीवास्तवलाई न्यायिक हिरासतमा राखिएको प्रहरीले जानेको छ । अनुसन्धान प्रक्रिया जारी रहेको र सम्बन्धित दस्तावेज तथा विद्युतीय सामग्री जफत गरिएको प्रहरी प्रशासनले जनाएको छ ।

प्रहरीले प्रकृतिको मोबाइल, ल्यापटप र एउटा डायरी पनि लगेको छ । त्यसको डिजिटल जाँच गरेर यो अनुसन्धानमा प्रमाणहरू जुटाइने भनिएको छ ।

भुवनेश्वर–कटके प्रहरी प्रशासनले दुवै मुद्दाको निष्पक्ष र न्यायोचित अनुसन्धान भइरहेकोले स्थिति सामान्यतर्फ गएको जनाएको छ भने विश्वविद्यालय प्रशासनले समेत विद्यार्थीलाई फिर्ता बोलाएकाले अहिले स्थिति सामान्य हुँदै गएको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी प्रशासनले विशेष गरी नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ । प्रहरी प्रशासनले सबै विद्यार्थीलाई कुनै पनि सुरक्षासम्बन्धी समस्या परेमा २४ सै घण्टा सञ्चालनमा रहेको हेल्पलाइन नम्बर ८२८०३३८३०१ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

२० वर्षीया लम्साल आईतबार अपराह्न होस्टलमा मृत अवस्थमा भेटिएकी थिइन् । त्यसपछि श्रीवास्ताव भागेर कोलकातास्थित घर जान खोजेका थिए । तर, व्यापक दबाबबीच उनी विमानस्थलबाटै पक्राउ परेका थिए ।

आरोपी श्रीवास्तव सोही कलेजमा बि–टेक (मेकानिकल) तेस्रो वर्षमा अध्ययनरत थिए । प्रकृतिलाई न्याय माग्दै गरिएको प्रदर्शनलाई प्रशासनले दमन गर्न खोजेपछि यो प्रकरणले थप उग्र रुप लिएको थियो ।

नेपालको प्रतिनिधिसभादेखि ओडिसाको विधानसभासम्ममा यो प्रकरणले अहिले प्रवेश पाएको छ । त्यहाँका सांसद्हरूले कलेजको लापरबाहीका कारण अन्तर्राष्ट्रिय रुपमै ओडिसाको निन्दा भएको भनेका छन् ।

यसैबीच, नेपालबाट गएको प्रहरी टोलीले केआईआईटीका नेपाली विद्यार्थीलाई भेटेकोछ ।

ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थीलाई नेपालबाट गएको प्रहरी टोलीले भेटेको हो ।

मंगलबार नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकारी सञ्जीव शर्मा दास र नवीनराज अधिकारीले आफूहरूलाई भेटेको त्यहाँ अध्ययनरत एक विद्यार्थीले बताए ।

उनले भने, ‘नेपाल सरकारका तर्फबाट श्री सञ्जीव शर्मा दास र श्री नवीनराज अधिकारीले हामीसँग भेट्नु भएको छ । उहाँहरूले हाम्रो चिन्तालाई सम्बोधन गर्न र आवश्यक सहयोग गर्न विश्वविद्यालयका अधिकारीहरूसँग संलग्न हुने आश्वासन दिनुभएको छ ।’

घटनाको बारेमा थप जानकारी लिनका लागि उनीहरुले विश्वविद्यालयका अधिकारीहरूसँग भेटघाट गर्ने पनि ती विद्यार्थीले बताए ।

Duduwa Tato hawa Bachau Image

एनओसी रोक्ने सरकारको चेतावनी

यता, भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको समस्या समाधान नगरे वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) रोक्ने चेतावनी दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति निकालेर घटनाको समाधान नगरे एनओसी रोक्ने चेतावनी दिएको हो । ‘उक्त घटनाबाट सृजित समस्याको न्यायपूर्ण र वैधानिक रुपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय शिक्षण सस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र एनओसी प्रदान गर्ने कार्य स्थगित गर्न सकिने व्यहोरा पनि सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ मन्त्रालयले भनेको छ।

केआईआईटीमा अध्ययनरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु र तत्पश्चात नेपाली विद्यार्थीहरू प्रति मन्त्रालयले ध्यानकर्षण भएको जनाएको छ ।

‘विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियम पालना गरी नियमानुसार बुझाउनुपर्ने शुल्क बुझाई अध्ययन गर्न पाउने विश्वव्यापी मान्यताको विपरीत अध्ययनरत रहिरहेको अवस्थामा विश्वविद्यालय प्रशासनबाट विद्यार्थीहरू प्रतिकोभएको व्यवहार निन्दनीय छ,’ मन्त्रालयले भनेको छ । घटनाको विषयमा समस्या समाधानको लागि कूटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिएको मन्त्रालयले जनाएको छ ।