जनयुद्धलाई मेटाउन खोज्नेहरू खरानी हुन्छन् : प्रचण्ड

जनयुद्धलाई मेटाउन खोज्नेहरू खरानी हुन्छन् : प्रचण्ड

नेपालगन्ज १ फाल्गुन : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरु खरानी हुने चेतावनी दिएका छन् ।

बिहीबार पार्टी केन्द्रिय कार्यालयमा पार्टीको तर्फबाट आयोजित ३०औँ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले हजारौँ शहीदहरुको बलिदान र रगतबाट तथा हजारौँ बेपत्ता योद्धाहरुको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौँ वर्षसम्म रहने दाबी गरे ।

उनले कसैले मेटाएर जनयुद्ध नमेटिने भन्दै मेटाउने दुःशाहस गर्नेहरु खरानी हुने बताए । उनले जनयुद्ध दिवस जनताका सबै उत्पीडित समुदायको निम्ति राष्ट्रिय दिवस भएको बताए । जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसकै रूपमा अगाडि लैजानुपर्ने बताए ।

जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक प्रयासहरु भएको भन्दै जनयुद्धलाई नेपाली जनताको युगान्तकारी अभियानको रुमपा, महान बलिदानको कीर्तिमान कायम गर्ने युद्धको रुपमा स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्ने बताए । जनयुद्धमाथि अहिले पनि प्रहार भइरहेको पनि बताए ।

अध्यक्ष दाहालले भने, ‘जनयुद्ध दिवस साँच्चै नै जनताका सबै उत्पीडित समुदायको निम्ति राष्ट्रिय दिवस नै हो । यसलाई राष्ट्रिय दिवसकै रुपमा हामीले अगाडि लैजानुपर्छ । जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक चेष्टाहरु पनि भएका छन् । त्यसैले जनयुद्धलाई नेपाली जनताको युगान्तकारी अभियानको रूपमा, महान बलिदानको कीर्तिमान कायम गर्ने युद्धको रुपमा हामीले स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्छ । तर, मलाई के विश्वास छ भने हजारौँ शहीदहरुको बलिदानबाट रगतबाट सिञ्चित यो प्रक्रिया, हजारौँ बेपत्ता योद्धाहरुको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौँ सयौँ वर्षसम्म रहनेछ । कसैले मेटाएर यो मेटिने छैन । जसले मेटाउने दुःशाहस गर्छ उही नै खरानी हुन्छ भन्ने मेरो विश्वास छ ।’

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

अध्यक्ष दाहालले प्राप्त उपलब्धिलाई अझ बलियो बनाउँदै समाजवादको बाटोमा अघि बढ्न जरुरी रहेको बताए । उनले प्रतिक्रियावादी शक्तिहरुले गणतन्त्रलाई जनताको गणतन्त्र हुन नदिन अनेकन गतिविधि गरिरहेको बताए ।

यसैबीच, बाँकेको खजुरा गाउँपालिकाले ‘जनयुद्ध दिवस’ को सार्वजनिक बिदा दिएको छ । खजुरा गाउँपालिकाले फागुन १ गतेका दिन स्वास्थ्य सम्बन्धी अत्यावश्यक सेवा बाहेक एक दिनको सार्वजनिक बिदा दिएको हो ।

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले एक सूचना जारी गर्दै फागुन १ गते संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको जगको रुपमा रहेको सशस्त्र जनयुद्ध शुरु भएको दिन २०५२ फाल्गुन १ गतेको स्मरणमा सार्वजनिक बिदा दिइएको बताएका छन् ।

२०५२ साल फाल्गुन १ गते शुरु सशस्त्र जनयुद्धको स्मरण र त्यस क्रममा देशमा आमूल राजनीतिक परिवर्तनका खातिर आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति सम्मानार्थ सार्वजनिक बिदा दिइएको खजुार गाउँपालिकाका डम्बर बहादुर विक ‘तुफान’ले जानकारी दिए । 

Duduwa Tato hawa Bachau Image

सूचनामा भनिएको छ ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको जगको रुपमा रहेको सशस्त्र जनयुद्ध शुरु भएको दिन २०५२ साल फाल्गुन १ गतेको स्मरण गर्दै मिति २०८१-१०-०४ गतेको कार्यपालिकाको निर्णयअनुसार मिति २०८१-११-०१ गतेको दिन स्वास्थ्य सम्बन्धी अत्यावश्यक सेवा बाहेक यस गाउँपालिका र सो अन्तर्गत रहेका वडा कार्यालय, स्वास्थ्य शाखा र शैक्षिक संघसंस्थाहरुमा १(एक) दिनको सार्वजनिक विदा दिइएको व्यहोरा सम्बन्धि सबैलाई जानकारीका लागि यो सूचना प्रकाशन गरिएकोछ ।’