कोहलपुरको अतिक्रमित जग्गा फिर्ता ल्याउने प्रधानमन्त्रीको दृढता
कोहलपुर २८ माघ : कोहलपुर नगर विकास समितिको करिब २८ बिघा जग्गा अतिक्रमित जमिनबारे प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ध्यानाकर्षण गराइएको छ ।
अतिक्रमण जग्गा हटाउन स्थानीयस्तरबाट भएको पहलकदमीले सार्थकता नपाएपछि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको छ । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित क्रिकेट मैदान आसपास समितिको करिब २८ बिघा जग्गा अतिक्रमित भएकोछ ।
सङ्घीय सांसद सूर्यप्रसाद ढकाल, कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्यसहित बाँकेका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिले आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भेटेर जग्गा फिर्ता गराइदिन आग्रह गर्दै ध्यानाकर्षण गराएका हुन् ।
जिल्लामा सर्वदलीय बैठक बसी अतिक्रमित जग्गामा बनेका घर टहरा हटाउन गरिएको आग्रहका आधारमा गृह मन्त्रालयबाट सूचना प्रकाशन भइसक्दा पनि अतिक्रमण गर्ने पक्षले सोअनुसार नगरेको भन्दै उच्च तहबाटै पहल लिइदिन प्रधानमन्त्री ओलीलाई प्रतिनिधिमण्डलले आग्रह गरेको थियो ।
सोक्रममा प्रधानमन्त्री ओली समक्ष कोहलपुरका नगर प्रमुख आचार्यले कोहलपुर नगर विकास समितिको क्रिकेट मैदान आसपासको करिब २८ विघा क्षेत्रको जग्गा लामो समयदेखि अतिक्रमणमा परेको जानकारी गराएका थिए ।
नगर प्रमुख आचार्यले भने, ‘नगरपालिकाले स्थानीय स्तरमा पहल गरी अतिक्रमण हटाउन खोजे पनि सफल नभएपछि प्रधाामन्त्रीको ध्यानाकर्षण गराएका छौं, अब सरकारी जग्गाको अतिक्रमण हट्ने आशा जगाएको छ ।’
प्रतिनिधिसभा सदस्य ढकालले भेटमा प्रधानमन्त्री ओलीले सरकारी सम्पत्तिको संरक्षणका लागि सरकार दृढ रहेको बताउँदै सङ्घीय सरकारका तर्फबाट अतिक्रमित जग्गा खाली गराउन मातहतका निकायलाई निर्देशन दिइने बताए । ढकालले सो अवसरमा बाँकेको समग्र विकास निर्माणको सन्दर्भमा प्रधानमन्त्री ओलीसमक्ष मागहरु प्रस्तुत गरिएको बताए ।
जवाफमा प्रधानमन्त्री ओलीले कसैले पनि राज्यको सम्पति अवैध रूपमा अतिक्रमण तथा दुरुपयोग गर्न नपाउने स्पष्ट गर्दै सरकारले अतिक्रमित जग्गा फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गरेका थिए ।





0 Comments