सातौं संस्करणको टुर डे ठाकुरद्वारा शुरु, मन्त्री न्यौपानेले गरे उद्घाटन

सातौं संस्करणको टुर डे ठाकुरद्वारा शुरु, मन्त्री न्यौपानेले गरे उद्घाटन

नेपालगन्ज २५ माघ : बाँके–बर्दियाको पर्यटन प्रवद्र्धन तथा साइकल संस्कृतिको विकास गर्न सातौं संस्करणको टुर डे ठाकुरद्वारा शुरु भएको छ । नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा शुरु भएको दुई दिने इभेन्टको हिजो विहान लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले उद्घाटन गरे ।

इभेन्ट उद्घाटन गर्दै मन्त्री न्यौपानेले लुम्बिनी प्रदेशको पर्यटन प्रबद्र्धन गर्न टुर डे ठाकुरद्वारा सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरे । उनले यो इभेन्टलाई मुगुको रारा तालसम्म एड्भेन्चरल साइकल टुरका रुपमा अगाडि बढाउने प्रतिबद्धता भए आगामी वर्ष प्रदेश सरकारका तर्फबाट बजेट छुट्ट्याउने घोषणा समेत गरे । 

उनले यसले लुम्बिनी र कर्णालीलाई पर्या–पर्यटनसंग जोड्न सहयोग पुग्ने बताए । मन्त्री न्यौपानेले स्वस्थ वातावरण र स्वस्थ शरीरका लागि पनि साइकल संस्कृति जरुरी रहेको भन्दै नेपालका सडकहरु साइकलमैत्री बनाउन आवश्यक देखिएको बताए ।

नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संघीय सांसद डा. धवल शमशेर राणा, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले पर्यटन प्रवद्र्धन र साइकल संस्कृतिको विकास गर्न टुर डे ठाकुरद्वारा सार्थक बनिरहेको बताए ।

राणाले टुर डे ठाकुरद्वारालाई अझ फराकिलो बनाउँदै रारासम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए । क्लबका बरिष्ठ उपाध्यक्ष एवम् एभेन्ट संयोजक सुरेन्द्रदीप कार्कीले स्वागत मन्तव्य ब्यक्त गरेको उद्घाटन समारोहको सञ्चालन सचिव इन्द्र गिरीले गरेका थिए । 

मन्त्री प्रचण्डबिक्रम न्यौपाने, सांसद एवं राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले साइकल चलाएर टुर दि ठाकुरद्वाराको उद्घाटन गरे । साइकल यात्रामा देश–विदेशका गरी २०० जना महिला र पुरुष साइकल यात्री सहभागी छन् । त्यस मध्ये भारतबाट २९ र चीनबाट १ जना साइकल यात्री पनि सहभागी छन् । 

Duduwa Tato hawa Bachau Image

नेपालगन्जको बागेश्वरी मन्दिर परिसरबाट साइकल यात्रा शुरु भएको हो । साइकल यात्रा बागेश्वरी मन्दिर परिसरबाट शुरु भई त्रिभुवन चोक, वीपी चोक, सुर्खेतरोड हुँदै कोहलपुर, केदारेश्वर धाम, सतखलुवा सिमसार क्षेत्र हुँदै बाटोमा रहेका विभिन्न धार्मिक पर्यटकीय स्थल र पर्यटकीय क्षेत्रको भ्रमण गर्दै ठाकुरद्वारा मन्दिर पुगेकोछ ।

बागेश्वरी मन्दिरदेखि ठाकुरबाबा मन्दिरसम्मको दुरी करीब १०० किलोमिटर छ । सातौं संस्करणको टुर डे ठाकुरद्वारा इभेन्टका लागि २७ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजक नेपालगन्ज साइक्लिङ क्लबले जनाएको छ । विश्वकै चर्चित इभी मोटर बीवाईडी मुख्य प्रायोजकको रुपमा छ ।