बाँकेमा ३६ हजार ९५० जनालाई खोप लगाइदैं

एचपीभी खोपले क्यान्सर लाग्ने सम्भावना ९० देखि ९५ प्रतिशतले कम गराउँछ : डा. पाण्डे
बाँकेमा ३६ हजार ९५० जनालाई खोप लगाइदैं

नेपालगन्ज २१ माघ : सरकारले भोली (मङ्गलबार)देखि आगामी फागुन ५ गतेसम्म पाठेघरको मुखको क्यान्सर रोकथामका लागि किशोरी लक्षित एचपीभी खोप अभियान सञ्चालन गर्दैछ ।

एकैपटक देशभर सञ्चालन हुने यो अभियानले कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरी समेट्दैछ । १९ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा अभियान सञ्चालन गरिदैँछ ।

यो नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध सञ्चालन गर्न लागेको सबैभन्दा ठूलो अभियान हो । यसअघि सात संघीय अस्पतालमा नमूना कार्यक्रमको रूपमा करिब १० हजार किशोरीलाई खोप दिइएको थियो । 

सरकारले १० देखी १४ वर्षसम्मका किशोरीहरुलाई दिन लागेको सिकोलिन नामक उक्त खोपले नेपालमा बढी मात्रामा देखिएको पाठेघरको मुखको क्यान्सरका १६ देखी १८ प्रजातीलाई रोकथाम गर्न सक्छ । 

विश्वमा हरेक वर्ष ५ लाख ७० लाख महिलाहरुलाई पाठेघरको क्यान्सर हुने तथा उक्त संख्या सन् २०३० सम्ममा उक्त संख्या ७ लाख पुग्ने अनुमान गरिएको छ । तथ्यांक अनुसार तीमध्ये ३ लाख ११ हजार महिलाको मृत्यु हुने गरेको छ । 

सरकारले पाठेघरको मुखको क्यान्सरलाई प्राथमिक रुपमा रोकथाम गर्न उक्त एचपीभी खोप अभियानका रुपमा सञ्चालन गर्न लागेको हो । राष्ट्रिय खोप सल्लाहकार समितीको २०८१ असोज २३ को सिफारिस तथा स्वास्थ्य मन्त्रालयको २०८१ कात्तिक ८ गतेको निर्णयअनुसार खोप दिन लागिएको हो ।

सोही अभियान अन्र्तगत बाँकेमा ३६ हजार ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइदैछ ।

स्वास्थ्य कार्यालय, बाँकेका अनुसार २ चरणमा जिल्लाका ८ वटै पालिकाका ३६ हजार ९५० जना किशोरीलाई उक्त खोप लगाईदैँछ ।

पहिलो चरण अन्र्तगत यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म र दोस्रो चरण माघ ३० गतेदेखि फागुन ६ गतेसम्म अभियान चल्नेछ । पहिलो चरणमा नेपालगन्ज उपमहानगरपालिका, जानकी, खजुरा र कोहलपुर नगरपालिका तथा दोस्रोमा राप्तीसोनारी, बैजनाथ, डुडुवा र नरैनापुर गाउँपालिकामा खोप लगाइनेछ । 

पहिलो चरण अन्र्तगत नेपालगन्ज उपमहानगरपालिकाका– ९३१९ जना, जानकी– १९५० जना, खजुरा–५८७२ जना र कोहलपुर नगरपालिकाका ७४४८ जनालाई खोप लगाइनेछ । 

दोस्रो चरण अन्र्तगत राप्तीसोनारी–३१८३ जना, बैजनाथ–४११४ जना, डुडुवा– २५८४ जना र नरैनापुर गाउँपालिकाका–२४८० जना गरि जम्मा बाँकेका ३६ हजार ९५० जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप लगाइनेछ ।

यसका लागि जिल्लामा ५२४ खोप केन्द्र तोकिएकोछ । जिल्लाका ३७८ विद्यालयमा अध्ययनरत र विद्यालय बाहिर रहेका किशोरीलाई खोप लगाइनेछ ।

खोप अभियान सञ्चालनको पूर्वसन्ध्यामा नेपालगन्जमा आयोजित अन्तरक्रियामा स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख अङ्गतबहादुर शाहीले खोपको सम्पूर्ण तयारी पुरा भएको बताए । 

प्रमुख शाहीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउने पहिलो चरणको तयारी पूरा भएको जानकारी दिँदै १० वर्षदेखि १४ वर्षसम्मका किशोरी तथा बालिकालाई खोप लगाउन लागिएको बताए ।

सो अवसरमा जिल्ला समन्वय समितिका, बाँकेका सभापति ज्ञानेन्द्र चौधरीले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन आग्रह गर्दै यो सबैको साझा दायित्व भएको बताए ।

भेरी अस्पताल नेपालगन्जका फिजिसियन डाक्टर राजन पाण्डेले सबै क्यान्सरविरुद्ध खोप नभएको तर, पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाएर बचाउन सकिने जानकारी दिँदै भ्याक्सिन सुरक्षाकवच भएको बताए । 

उनले एचपिभी खोप यौन सम्बन्ध नराखेका महिलाले लगाउने खोप भएको जानकारी दिंदै बिवाहित किशोरीहरुले खोप नलगाउन सुझाव दिए ।

स्वास्थ्य कार्यालयका खोप सम्पर्क व्यक्ति नरेशबाबु श्रेष्ठले पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी भाइसरविरुद्ध जिल्लामा सञ्चालन हुने खोप अभियानमा सिकोलिन खोप उपलब्ध हुने जानकारी दिए । 

उनले नेपालगन्जमा मौलाना, इमाम र मदरसाका शिक्षकसँग खोपका विषयमा छलफल गरिएको उल्लेख गर्दै विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरी र बालिकालाई खोप लगाइने बताए ।

एचपीभी खोपले क्यान्सर लाग्ने सम्भावना ९० देखि ९५ प्रतिशतले कम गराउँछ : डा. पाण्डे

भेरी अस्पताल नेपालगन्जका फिजिसियन डाक्टर राजन पाण्डेले एचपीभी खोपले ह्युमन प्यामिलोमा भाइरसका कारण हुने पाठेघरको मुखको क्यान्सर हुने सम्भावना ९० देखि ९५ प्रतिशतले न्यून हुने बताए । 

‘ह्युमन प्यामिलोमा भाइरसका विभिन्न प्रजातीमध्ये १६ र १८ नम्बरले गराउने क्यान्सरका लागि यो खोपले सुरक्षित गराउँछ’ उनले भने । क्यान्सरबाहेक अन्य रोगहरु मुसा आउने, रोग सर्ने सम्भावना कम गर्ने जस्ता फाइदा पनि एचपीभी खोपले गर्छ ।  

विभिन्न अध्ययनका अनुसार १० देखि १४ वर्ष उमेरसमुहका किशोरीहरुलाई यो खोप प्रभावकारी हुने भएपछि उक्त उमेर समुहलाई खोप दिन लागिएको उनले बताए । यौन जीवनको सुरुवात भइनसकेका उमेर समुहलाई खोप लगाउँदा बढी प्रभावकारी हुने भएकोले पनि १० देखी १४ वर्ष उमेर छनोट गरिएको उनको भनाईछ ।

खोप क्यान्सर रोकथामको उपाय भएपनि शरीरमा भाइरस प्रवेश गरिसकेकाहरु भने उपचारकै प्रक्रियामा अगाडि बढ्नुपर्ने डाक्टर पाण्डे बताउँछन् । यौन जीवनमा प्रवेश गरिसकेका २० वर्ष माथिका महिलाहरुले यौन अंगहरुको परीक्षण नियमित रुपमा गर्नुपर्ने तथा त्यसका लागि सरकारले सहयोग गर्नुपर्ने उनको सुझाव छ । यौन क्रियाकलापबाट शरीरका अन्य अंगहरुमा समेत ह्युमन प्यामिलोमा भाइरस जान सक्ने भएकोले अन्य क्यान्सरमा पनि यो खोप प्रभावकारी हुन्छ । 

Duduwa Tato hawa Bachau Image

साइट इफेक्ट के–के हुनसक्छन्?

विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त तथा नेपालको औषधि व्यवस्था विभागबाट अनुमति प्राप्त एचपीभी खोप एक सुरक्षित तथा प्रभावकारी खोप हो । साधारणतया यो खोपको प्रयोग लगाएपछि न्यून मात्रामाा मात्रै असरहरु देखिने गर्छन् । 

यसबाट हुन सक्ने सामान्य असरहरु खोप लगाएको ठाउँमा दुख्नु तथा सुन्निनु, टाउको दुख्नु, वाकवाकी लाग्नु, थकान महसुस हुनु, रिंगटा लाग्नु, ज्वरो आउनु, एलर्जी रियाक्सन आदि हुन सक्ने भएपनि नआत्तिन र खोप सहिजकरणमा खटिएका चिकित्सकसँग समन्वय गर्न भेरी अस्पताल नेपालगन्जका फिजिसियन डाक्टर राजन पाण्डेले बताए ।