‘शिक्षण अस्पतालमा कार्यरत आफ्ना कर्मचारी लैजाऊ’

‘शिक्षण अस्पतालमा कार्यरत आफ्ना कर्मचारी लैजाऊ’

नेपालगन्ज १८ माघ : सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिले लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई पत्र लेख्दै आफ्ना कर्मचारीहरु तत्काल व्यवस्थापन गर्न आग्रह गरेको छ ।

साविक नेपालगन्ज हस्पिटल रिर्सच एण्ड टे«निङ सेन्टर प्रालिले २०५४ सालदेखि नेपालगन्जमा अस्पताल सञ्चालन गर्दै आएको उल्लेख गर्दै पत्रमा २०५५ सालमा चिकित्सा शिक्षण अध्यापन गराउनका लागि सम्पूर्ण पूर्वाधार लर्डबुद्ध एजुकेशनल एकेडेमी लिमिटेडको अनुरोधमा लर्डबुद्धलाई लिजमा सञ्चालनको गर्न दिइएको उल्लेख गरिएको छ ।

साविक (नेपालगन्ज हस्पिटल रिर्सच एण्ड ट्रेनिङ सेन्टर प्रालि) हालको सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिबाट उक्त अस्पताल लिजमा लिएपछि लर्डबुद्ध एजुकेशनल एकेडेमी लिमिटेडले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज सञ्चालन गर्दै आएको थियो ।

सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिले गएको २०८१ साल बैशाख ११ गते सञ्चालक समितिको निर्णयले लर्डबुद्ध एजुकेशनल एकेडेमी लिमिटेडलाई लिजमा दिएको सम्पूर्ण पूर्वाधार आफैले संचालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको आधारमा अस्पताल नवीकरण तथा स्तरोन्नतिको लागि लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रलायमा स्वीकृतिका लागि आवश्यक प्रक्रियामा रहेको छ ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

साथै पूर्वाअञ्चल विश्वविद्यालयबाट स्थगन भएका कार्यक्रमहरु स्थान परिवर्तन गरी पुनः सञ्चालनको प्रक्रियामा अगाडि बढिसकेकाले सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिले आफै अस्पताल सञ्चालन गर्नुपर्ने भएकाले लर्डबुद्धमा आवद्ध कर्मचारीहरुलाई तत्काल व्यवस्थापन गर्न सञ्जीवनीले आग्रह गरेको हो ।

सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिका प्रमुख कार्यकारी अधिकृत डा.नितेश कुमार कनोडियाले लर्डबुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका प्रमुख कार्यकारी अधिकृतलाई पत्र लेख्दै भनेका छन् –‘त्यस कम्पनीको शिक्षण अस्पतालमा कार्यरत कर्मचारीलाई व्यवस्थापन गरी यस (सञ्जीवनीको परिसर)बाट लैजाने व्यवस्थापन गरि सहयोग गरिदिनु ।’

सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिका प्रमुख कार्यकारी अधिकृत डा.कनोडियाले माघ १५ गतेनै लर्डबुद्धलाई शिक्षण अस्पतालका कर्मचारी लैजान पत्र लेखेर पठाएका थिए । सञ्जीवनीले फागुन १५ गतेसम्म आफ्ना कर्मचारी व्यवस्थापन गर्न आग्रह गरेको हो । नेपालगन्ज मेडिकल कलेजको व्यवस्थापन फेरिएसँगै अस्पताललाई नयाँ ढंगबाट सञ्चालनको तयारी भइरहेको छ ।

Duduwa Tato hawa Bachau Image

मेडिकल व्यवसायी खुमा प्रसाद अर्यालले सञ्चालनको जिम्मेवारी लिएका छन् । उनले नयाँ व्यवस्थापनका साथ कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिरहेका छन् । लर्डबुद्ध अन्तर्गत नियुक्त भएका कर्मचारीहरु अब नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा जानुपर्ने वा सञ्जीवनीमा काम गर्ने भए नयाँ प्रक्रियाबाट आउनुपर्ने गरी व्यवस्थापन गरिएको छ ।

त्यसकै लागि सञ्जीवनीले गएको पुष दोस्रो साता विशेषज्ञ चिकित्सक, मेडिकल अफिसर, नर्ससहित करिब ९ सय जनशक्ती माग गरेको छ । माघ मसान्तभित्र दरखास्त दिन आव्हान गरेको छ ।

साविक नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका कर्मचारीहरुले गत मंसिर २६ गतेदेखि सेवा सुविधा बृद्धिको माग गर्दै आन्दोलन गरिरहेका छन् । उनीहरुले व्यवस्थापन पक्षले आफुहरुमाथि अन्याय गरेको दुखेसो पोखिरहेका छन् ।