भेरीको फार्मेसीमा सुधार, दोब्बर बढी आम्दानी

भेरीको फार्मेसीमा सुधार, दोब्बर बढी आम्दानी

नेपालगन्ज १८ माघ : बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको फार्मेसी सुधारको प्रयास थालिएको छ । फार्मेसी ब्यवस्थित नहुँदा यसअघि अस्पतालले आम्दानी नै गर्न सकेको थिएन । तर, पछिल्लो दुई महिनादेखी फार्मेसीमा क्रमिक रुपले सुधार देखिएको हो । 

अस्पतालको फार्मेसीमा पर्याप्त मात्रामा औषधी नराख्दा बाहिरका निजी मेडिकलले महंगोमा औषधी बिक्री गर्ने गरेका थिए । अहिले अस्पतालको फार्मेसीमा अधिकांस औषधीहरु बिरामीले पाउन थालेका छन् । 

अस्पतालले फार्मेसीमा पर्याप्त मात्रामा औषधी राखेपछि बिरामीले सुलभ मुल्यमा औषधी लिन पाएका छन्, भने बिरामीलाई औषधीका लागि बाहिर जानुपर्ने झण्झट पनि अन्त्य भएको छ । 

फार्मेसीमा बिरामीको चाप बढेपछि अस्पतालको आम्दानी दोब्बर भएको छ । अस्पताल प्रशासनका अनुसार यसअघि फार्मेसीले मासिक रुपमा ७० देखी ८० लाख रुपैयाँको हाराहारीमा औषधी बिक्री गर्दै आएको थियो । 

फार्मेसी ब्यवस्थित भएपछि आम्दानी दोब्बर बढेको यहाँका कर्मचारी बताउँछन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. निराजन सुवेदीका अनुसार फार्मेसीको आम्दानी गत मंसिरमा एक करोड ६० लाख र पुस महिनामा १ करोड ४२ लाख भएको छ । 

‘हामीले अस्पतालको फार्मेसीलाई ब्यवस्थित गरेपछि एकातिर बिरामीलाई राहत मिलेको छ, भने अर्कोतिर अस्पतालले पनि दोब्बर आम्दानी गरेको छ,’ डा. सुवेदीले भने ‘अहिले फार्मेसी धेरै ब्यवस्थित भएको छ, हामीले फार्मेसीलाई धेरै सुधार गरेका छौं ।’ 

अस्पतालले पहिलेको तुलनामा फार्मेसीमा धेरै प्रकारका औषधीको ब्यवस्था गरेको जनाएको छ । अस्पतालले फार्मेसीमा कार्यरत केही कर्मचारीको जिम्मेवारी पनि फेरबदल गरेको छ । 

कर्मचारीको काम गर्ने शैली पनि अस्पतालको फार्मेसी अब्यवस्थित हुनुको एउटा कारण भएको कतिपयको बुझाई थियो । फार्मेसीमा कार्यरत कर्मचारीको सेटिङकै कारण भित्र पर्याप्त मात्रामा औषधी नपाउने र निजी मेडिकलको मनपरी चल्ने गरेको गुनासो सेवाग्राहीबाट आउने गरेको थियो । 

फार्मेसी अस्पतालको प्रमुख आम्दानीको स्रोत मानिन्छ । तर, यही फार्मेसी ब्यवस्थित नहुँदा अस्पतालका लागि सधैं टाउको दुखाई बन्ने गर्छ । अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले धेरै समयको प्रयासपछि फार्मेसी ब्यवस्थित भएको बताए । फार्मेसी ब्यवस्थित हुँदा अस्पतालको आम्दानी ह्वात्तै बढेको उनले सुनाए ।

Duduwa Tato hawa Bachau Image

‘फार्मेसीमा पहिले धेरैजसो औषधी पाउँदैनथ्यो, अहिले फार्मेसीमा औषधीको प्रकार बढाएका छौं, अहिले गुणस्तरीय औषधी पाईन्छ,’ अध्यक्ष शाहले भने ‘अहिले बिरामीले अस्पतालको आफ्नै फार्मेसीबाट खोजेको औषधी पाइरहेका छन्, फार्मेसीको आम्दानी पनि दोब्बर भएको छ ।’ 

फार्मेसीमा औषधी लिन जाने सेवाग्राहीका लागि बस्ने बेन्चको पनि ब्यवस्था गरिएको उनले सुनाए । शाहले थपे, ‘फार्मेसीमा औषधी लिन जाने मानिसहरु लाईन लाग्नुपर्दैन, बेन्चमा बसेर पालो अनुसार औषधी पाउनु हुन्छ ।’