नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

नेपालगन्ज १७ माघ : नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ । माघ १६ र १७ गते बसेको महासंघको तेस्रो पूर्ण राष्ट्रिय बैठकपछि आन्दोलनको घोषणा गरिएको हो । 

बैठकपछि आयोजित पत्रकार सम्मेलनमार्फत पहिलो चरणको आन्दोलनबारे जानकारी दिइएको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत माघ २० गते सबै शिक्षक कर्मचारीले फेसबुक वालमा आयतकार रातो स्टिकर प्रयोग गरी ‘२०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ लेख्नेछन् ।

त्यस्तै माघ २५ गते दिउँसो १ बजे सबै पालिकामा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने कार्यक्रम तय गरिएको छ । पत्र बुझाउन कम्तीमा १५ जनाको प्रतिनिधिमण्डल लैजाने तय भएको छ ।

त्यस्तै माघ २५ गते नै स्थानीय स्तरमा आन्दोलन परिचालन समिति गठन गर्ने समेत तय भएको छ । माघ २९ गते हरेक विद्यालयमा विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिबिच अन्तरक्रिया कार्यक्रम गर्ने र शिक्षक–कर्मचारीका माग मुद्दा तथा आन्दोलनको आवश्यकताबारे सुसूचित गराउने कार्यक्रम तय भएको छ ।

माघ ३० गते बुधबार दिउँसो पालिका कार्यालयमा भेला भई ‘हाम्रा माग सम्बोधन हुने गरी यो हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ भन्ने नारा सहित हातमा कालो पट्टी बाँधी खबरदारी जुलुस प्रदर्शन गरिने छ ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

त्यस्तै जिल्ला स्तरका कार्यक्रम अन्तर्गत माघ २६ गते हरेक जिल्लामा आन्दोलन परिचालन समिति गठन गरिनेछ । फागुन २ गते देशका ७७ वटै जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाइनेछ ।

त्यस्तै फागुन ११ गते जिल्ला आन्दोलन परिचालन समितिले जिल्लाका सबै निर्वाचन क्षेत्रबाट निर्वाचित संघीय सांसदलाई सरकार र महासंघबिच भएका विगतका सबै सहमती समावेश गरी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

त्यस्तै प्रदेश तह अन्तर्गत फागुन ७ गते प्रदेश स्तरको आन्दोलन परिचालन समिति गठन गरिनेछ । फागुन ९ गते देशका ७ वटै प्रदेशका मुख्यमन्त्री÷सामाजिक विकासमन्त्रीसमक्ष ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने कार्यक्रम तय भएको छ ।

राष्ट्रिय तहको कार्यक्रम अन्तर्गत माघ १८ गतेदेखि फागुन १० गतेसम्म विभिन्न सरोकारवालासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

सबै राजनीतिक पार्टीका संसदीय दलका प्रमुख सचेतकलाई भेटेर आन्दोलनबारे जानकारी गराउने कार्यक्रम रहेको छ । त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति, शिक्षामन्त्रीलाई समेत आन्दोलनबारे जानकारी पत्र बुझाउने कार्यक्रम छ ।

Duduwa Tato hawa Bachau Image

त्यस्तै सबै राजनीतिक दलका प्रमुख÷महासचिवलाई भेटेर आन्दोलनको जानकारी गराउने, सभामुखलाई आन्दोलन र त्यसको उद्देश्यबारे लिखित जानकारी गराउने कार्यक्रम समेत तय भएका छन् ।

त्यस्तै प्रधानमन्त्रीलाई समेत आन्दोलनबारे ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने कार्यक्रम महासंघले तय गरेको छ । अभिभावक महासंघ, विद्यालय व्यवस्थापन समिति महासंघ, विद्यार्थी संघ संगठनहरूसँग समेत अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै फाल्गुण १७ गते काठमाडौँमा कालोपट्टीसहित जुलुस प्रदर्शन तथा खबरदारी सभा गर्ने कार्यक्रम तय महासंघले गरेको छ ।

फाल्गुण १९ गते दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । दोस्रो चरणको आन्दोलनको कार्यक्रममा राजधानीमा सांगठनिक शक्ति प्रदर्शन, असहयोग, अवज्ञा (बहिष्कार) तथा अवरोधजन्य कार्यक्रम ल्याइने महासंघ अध्यक्ष सुवेदीले बताए ।

आन्दोलनका क्रममा ‘हाम्रो आन्दोलन जारी छ’, ‘हाम्रा माग सम्बोधन हुने गरी यही हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’, नेपाल शिक्षक महासङ्घ जिन्दाबाद जस्ता नारा तय भएका छन् ।