भेरी अस्पतालका बिग्रेका उपकरण आविष्कार केन्द्रले बनाउने सम्झौता

भेरी अस्पतालका बिग्रेका उपकरण आविष्कार केन्द्रले बनाउने सम्झौता

नेपालगन्ज १७ माघ : पश्चिम नेपालको रिफरल अस्पतालका रुपमा रहेको नेपालगन्ज स्थित भेरी अस्पताल र राष्ट्रिय आविष्कार केन्द्रबीच बिग्रिएका उपकरणको मर्मत गर्ने सम्झौता भएको छ । सम्झौता भएसंगै आविष्कार केन्द्रले अस्पतालमा रहेका बिग्रिएका उपकरण मर्मत  गर्नेछ ।

सम्झौता हस्ताक्षरमा भेरी अस्पतालका तर्फबाट प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदी तथा आविष्कार केन्द्रका तर्फबाट अविष्कार अधिकारी, अभिनव आनन्द दत्त र देवेन्द्र कुमार साह सहभागी थिए । भदौ ५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रसँग बिग्रिएका उपकरण मर्मतको सम्झौता गरेको थियो ।

उक्त सम्झौता अनुसार देशभरका १७ वटा ठूला संघीय अस्पतालमा बिग्रिएर वा प्रयोगविहीन अवस्थामा रहेका स्वास्थ्य उपकरणको मर्मत र उपकरणको अवस्था राष्ट्रिय आविष्कार केन्द्रले पत्ता लगाउने काम अहिले गरिरहेको छ । त्यसैक्रममा भेरी अस्पतालसंग पनि सम्झौता भएको हो ।

बिग्रिएको उपकरण कसैले मर्मत गर्न तयार नहुने भएकाले आफूहरुले सेवा भावको हिसाबले काम गरिरहेको केन्द्रका अविष्कार अधिकारीले बताए ।

‘अस्पतालमा जे–जे उपकरण बिग्रिएका छन् । त्यसको मर्मत गर्छौं’, उनले  भने, ‘वारेन्टी सकिएको उपकरणलाई बनाउँछौं । मर्मत गर्न नसक्ने उपकरणलाई बनाउन सक्दैनौं भनेर सिफारिस गर्छौं ।’

Duduwa Tato hawa Bachau Image

शुरुमा आविष्कार केन्द्रका स्वास्थ्य विज्ञ प्राविधिकले अस्पतालमा रहेका बिग्रिएका उपकरणको अवस्था अध्ययन गरेर मर्मत गर्न सकिने वा नसकिने छुट्याउनेछन् । त्यसपछि अस्पतालले उपलब्ध गराएका मर्मत सामग्रीको प्रयोग गरी मर्मत हुनेछ ।

अस्पतालका प्रमुख मेसु डा. सुवेदीका अनुसार अस्पतालका प्राविधिक र आविष्कार केन्द्रका जनशक्तिले अब बिग्रिएका उपकरण संकलन र मर्मतको लागत अनुमान गर्ने काम गर्ने छन् । सरकारले ठूलो धनराशी खर्च गरेर खरिद गरेका र दाताले दिएका धेरै स्वास्थ्य उपकरणहरु अस्पतालको स्टोरमा थन्किएका छन् ।