भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष खनालले सम्हाले कार्यभार
नेपालगन्ज १४ माघ : भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले सोमबारदेखि कार्यभार सम्हालेका छन् । जिल्ला समन्वय समितिमा कार्यालय स्थापना गरी उनले कार्यभार सम्हालेका हुन् ।
कार्यालय स्थापना तथा पदभार ग्रहण कार्यक्रममा संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख एवम् अध्यक्षहरु, राजनीतिक दलका जिल्ला नेतृत्व, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु लगायत उपस्थित थिए ।
नवनियुक्त अध्यक्ष खनालले जिल्लामा विद्यमान भूमि सम्बन्धि समस्या समाधानमा गम्भीरतापूर्वक लाग्ने बताए । समस्या पहिचान र समाधान प्रक्रियामा सबैको साथ र सहकार्य जरुरी रहेको उनको भनाई छ ।
त्यसक्रममा संघीय सांसदहरु सूर्य ढकाल, दीपा शर्मा, लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मी, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, कोहलपुरका प्रमुख पूर्णप्रसाद आचार्य, राप्तीसोनारी अध्यक्ष तप्त बहादुर पौडेल, बैजनाथका अध्यक्ष प्रकाश बहादुर शाही, खजुरा अध्यक्ष डम्बर बहादुर विक ‘तुफान’, नरैनापुरका अध्यक्ष इश्तियाक अहमद शाह, जानकीका अध्यक्ष छब्बन खाँ, डुडुवा उपाध्यक्ष शाहिदा बानो, काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, एमाले अध्यक्ष निरक गुरुंग, नेकपा माओवादी बाँकेका अध्यक्ष नरेन्द्र प्रसाद पाण्डे ‘जेम्स’, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल लगायतले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए ।
वास्तविक भूमिहिन पहिचान गरी समस्या समाधानमा केन्द्रित हुन सुझाब दिँदै उनीहरुले सरकार परिवर्तनसंगै आयोगको नेतृत्व पनि बदलिने प्रबृत्तिले ठोस प्रगति हुन नसकेको भन्दै चिन्ता ब्यक्त गरेका थिए । नापी कार्यालय बाँकेका प्रमुख गुणेश्वर यादवले कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।





0 Comments