एमाले बाँकेद्वारा अग्रज नेताहरूको सम्मान
नेपालगन्ज १४ माघ : बाँकेमा नेकपा वामपन्थी आन्दोलनमा महत्वपूर्ण योगदान गर्ने अग्रज नेताहरूलाई सोमबार नेपालगन्जमा सम्मान गरिएको छ ।
नेकपा (एमाले) बाँके शिक्षा तथा मानव स्रोत विभागको आयोजनामा भएको कार्यक्रममा नेकपाका संस्थापक सचिव स्व. रुपसिंह सिँजापतिसहित ६५ जना अग्रज नेतालाई सम्मान गरिएको हो ।
अग्रज नेताहरूलाई सम्मान गर्दै नेकपा (एमाले) का सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले अग्रजहरूको सम्मानबाट मात्र सही मार्गमा हिड्न प्रेरित हुने भन्दै अग्रजहरूले देखाएको मार्गमा पार्टी निरन्तर अघि बढेको बताए ।
अर्यालले भने, ‘तपाईं अग्रजहरूको योगदान महत्त्वपूर्ण छ, तपाईहरुका कारण पार्टी आजको अवस्थामा पुगेको श्रेय तपाईंहरूलाई जान्छ ।’ सो अवसरमा २०२३ सालमा पार्टी सदस्यता प्राप्त गरेका केन्द्रिय सल्लाहकार तथा पूर्व सांसद बाबुराम गौतम, रोमहर्ष धिताललगायत ६५ जना अग्रजको सम्मान गरिएको हो ।
सम्मानित भएका खजुरा–२ का भक्तबहादुर केसीले आफुहरूले पार्टी निर्माणमा सकेको योगदान गरेको भन्दै जनताको पक्षमा केन्द्रित हुन पार्टी नेतृत्वको ध्यानाकर्षण गराए । २०४६ सालभन्दा पहिले पार्टीको सङ्गठित सदस्यता प्राप्त गरेका अग्रज नेताहरूको सम्मान गरिएको विभागका प्रमुख सूर्य रोकायले बताए ।





0 Comments