चिसो बढेपछि कोहलपुरका विद्यालय तीन दिन बन्द

चिसो बढेपछि कोहलपुरका विद्यालय तीन दिन बन्द

कोहलपुर १४ माघ : बाँकेमा चिसो अत्यधिक बढेपछि कोहलपुर नगरपालिकाले नगरभित्रका सबै विद्यालयलाई फेरी तीन दिनका लागि बन्द गरेर जाडो बिदा दिएको छ ।

बढेको अत्याधिक चिसोका कारण बालबालिकाहरु बिरामी पर्न थालेपछि फेरी तीन दिनका लागि विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ । 

कोहलपुर नगरपालिकाका उपसचिव रामबहादुर हमालले दिएको जानकारी अनुसार चिसो अत्यधिक बढेकोले आईतबार माघ १३ गतेदेखि माघ १५ गतेसम्म सबै विद्यालयमा जाडो बिदा दिइएको हो । 

यसअघि पनि शीतलहर र चिसो बढ्दा गत पुस २६ गतेदेखि २९ गतेसम्म चार दिनका लागि कोहलपुर नगरपालिकाभित्रका सम्पूर्ण विद्यालय बन्द गरिएको थियो । चिसोले बालबालिकाहरु फेरि प्रभावित भएको जानकारी आएकोले यस पटक नगरका सबै विद्यालय तीन दिन बन्द गरिएको उपसचिव हमालले जनाए ।

यसैगरी, नेपालगन्ज उपमहानगर र खजुरा गाउँपालिकामा पनि चिसो बढेपछि विद्यालयहरु तीन दिनका लागि बन्द गरिएका थिए । आईतबारबाट नेपालगन्ज र खजुराका विद्यालयलाई भने सुचारु गरिएको छ । पश्चिम नेपालका हिमाली र पहाडी जिल्लामा हिउँ परेकोले केही दिनयता यहाँ चिसो अत्यधिक बढ्न जाँदा साना साना बालबालिकालाई विद्यालय पठाउन समस्या भएको थियो । 

Duduwa Tato hawa Bachau Image

बढ्दो चिसोको जोखिमलाई विचार गर्दै साना बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर विद्यालयमा बिदा दिइएको कोहलपुर नगरपालिकाले जनाएको छ । चिसो अत्यधिक बढ्दा केही दिनयता यहाँका सबै पालिकाको जनजीवन अतिनै कष्टकर बन्दै गएको छ । चिसोकै कारण बिरामी पर्नेहरु पनि बढ्दै गएको अस्पतालहरुबाट जानकारी प्राप्त भएको छ ।