वीमाको रकम नआउँदा उपचारमा समस्या

वीमाको रकम नआउँदा उपचारमा समस्या

नेपालगन्ज १२ माघ : पश्चिम नेपालकै प्रमुख सरकारी अस्पताल नेपालगन्जस्थित भेरी अस्पतालले स्वास्थ्य बिमाबापतको रकम नपाउँदा बिरामीको उपचारमा समस्या आउन थालेको जनाएको छ । 

सरकारको स्वास्थ्य वीमा बोर्डले अस्पताललाई हालसम्म भुक्तानी गर्नुपर्ने १० करोड रुपैयाँ भुक्तानी नगर्दा समस्या आएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नीराजन सुवेदीले बताए ।

उनका अनुसार वीमा बोर्डले अस्पताललाई पठाउनुपर्ने गत आर्थिक वर्ष २०८०-८१ को वैशाख, जेठ र असार महिनाको चार करोड रुपैयाँ र चालु आव २०८१-८२ को साउनदेखि पुससम्मको करिब ६ करोड रुपैयाँ गरी १० करोड रुपैयाँको भुक्तानी रोकिएको छ । 

अस्पतालले बोर्डबाट हालसम्म पाउनुपर्ने वीमा बापतको करिब १० करोड रुपैयाँ नपाउँदा बिरामीको उपचार प्रभावित भएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदीले बताए ।

स्वास्थ्य वीमाका कारण अस्पतालमा बिरामीको चाप बढे पनि वीमाको रकम भुक्तानी नपाउँदा अस्पताल चलाउन समस्या भइरहेको उनले बताए ।

वीमा बापतको रकम भुक्तानी नपाउँदा औषधी, केमिकललगायत सामान ढुवानीकर्तालाई भुक्तानी दिन नसकेको बताउँदै उनले ढुवानीकर्ता (सप्लायर्स) ले नियमित रूपमा आवश्यक सामान उपलब्ध गराउन नसकेको बताए ।

सरकारले स्वास्थ्य वीमा लागु गर्दा गरिब तथा विपन्न समुदायलाई राहत मिलेको भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले बताए । 

उनले वीमा लागु गरिएपछि अस्पतालमा आएर छुट माग्नेहरू पनि घट्दै गएका बताए । वीमा बोर्डले वार्षिक तीन हजार पाँच सय रुपैयाँमा स्वास्थ्य वीमा गराएबापत परिवारका पाँच सदस्यलाई एक लाख रुपैयाँ बराबरको उपचार सुविधा दिँदै आएको छ । 

Duduwa Tato hawa Bachau Image

अस्पतालले स्वास्थ्य वीमासम्बन्धी छुट्टै काउण्टर राखेको छ । स्वास्थ्य वीमा कार्यक्रमलाई अस्पतालले व्यवस्थित गर्दै लगेको छ ।