बाँके कुष्ठरोगको उच्च जोखिममा, पाँच महिनामा थपिए ३६ नयाँ संक्रमित
- | नेपाखबर | स्वास्थ्य
- ११ माघ २०८१, शुक्रवार
- नेपाखबर
नेपालगन्ज ११ माघ : सरकारले सन् २०१० मै नेपाललाई कुष्ठरोग उन्मुलन गरेपनि वर्षेनी बाँकेमा नयाँ कुष्ठरोगी भेटिने दर बढ्दो पाइएकोछ । योसंगै बाँके कुष्ठरोगको उच्च जोखिममा रहेको हो ।
बाँकेमा पछिल्लो पाँच महिनाको अवधिमा ३६ जना नयाँ कुष्ठरोग संक्रमित फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८१–०८२ को साउनदेखी मंसिर महिनासम्म २३ जना पुरुष र १३ जना महिला गरी ३६ जना फेला परेका हुन् ।
स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग फोकल पर्सन रविन्द्र साहले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार ती मध्ये सबैभन्दा बढी कोहलपुरमा १०, नेपालगन्जका ८, डुडुवा ५, राप्तीसोनारी ४ तथा बैजनाथ, खजुरा र नरैनापुरका २÷२ जना छन् ।
आईएनएफ नेपाल बाँके साईनिङ अस्पताल नेपालगन्जले शुक्रबार गरेको कार्यक्रममा अस्पतालका ईन्चार्ज मंगलबहादुर चौधरीले आईएनएफ नेपाल बाँकेले कुष्ठरोग विरुद्ध औषधी उपचार, जनचेतना अभिवृद्धि लगायतका कामहरु गरेको जानकारी दिए ।
आर्थिक वर्ष २०८१–०८२ को पहिलो ६ महिनामा ९ हजार ६ सय १४ जनालाई बहिरंग सेवा दिएको उनले बताए । बाँकेसहित बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, दाङ, सल्यान, रुकुम, सुदुरपश्चिम प्रदेश र भारतका गरी कुल ५८ जना नयाँ कुष्ठरोगी पहिचान तथा प्रेशन गरिएको चौधरीले जानकारी दिए ।
यसैगरी ७९ जना अन्तरंग सेवामा भर्ना, ४ सय ७३ जनालाई कुष्ठरोगी निदान तथा अनुगमनको लागि प्रयोगशाला परिक्षण लगायत कार्य गरिएको चौधरीले बताए ।
अस्पतालमा अहिले १४ जना बिरामी भर्ना भएर उपचार गराइरहेका छन् । ‘कुष्ठरोगको जटिलता भएर उपचारका लागी आउनु भएको हो, उहाँहरु विभिन्न जिल्लाबाट आउनु भएको छ,’ उनले भने ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले जबसम्म कुष्ठरोगका बिरामीको संख्या घट्दैन, तबसम्म चुनौती नै रहेको बताए ।
‘समुदायमा अहिले पनि कुष्ठरोगलाई लुकाउने प्रवृत्ति रहेको छ,’ शाहीले भने । राष्ट्रिय स्तरमा कुष्ठरोग निवारण भएको घोषण भएपनि प्रदेश, जिल्ला र स्थानीय तहमा कुष्ठरोग संक्रमण दर वर्षेनी बढिरहेको उनले बताए ।
बाँकेमा प्रत्येक बर्ष बढ्दै गइरहेको कुष्ठरोग निवारणका लागि राज्यबाट आवश्यक योजना तथा बजेट विनियोजन नहुनु, प्राथमिकतामा नपर्नु दुःखको विषय भएको बताउँदै उनले यसमा सञ्चार जगतले झक्झक्याउनुपर्नेमा जोड दिए ।
यही आइतबार नेपालमा पनि ७२औं विश्व कुष्ठरोग दिवस मनाइँदैछ । ७२ औं विश्व कुष्ठरोग दिवस भब्यरुपमा सफल पारौं, एकताबद्ध भई कुष्ठरोग अन्त्यको कार्यमा सहभागी बनौं भन्ने नाराका साथ दिवस मनाइँदैछ ।
दिवसको पूर्व सन्ध्यामा साइनिङ अस्पतालले आज पत्रकार भेटघाट गरेर रोगको पछिल्लो अवस्था र दिवसको तयारीका बारेमा जानकारी गराएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, बिएनएमटी नेपालका दिपेन्द्र पाण्डे, साइनिङ अस्पतालका यम बहादुर केसी लगायतले बोलेका थिए ।





0 Comments