माघ १० गतेदेखि नेपालगन्जमा प्रादेशिक महोत्सव, माओवादी अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने
- | अर्थ | नेपाखबर | मनोरञ्जन
- ८ माघ २०८१, मङ्गलवार
- नेपाखबर
नेपालगन्ज ८ माघ : नेपालगन्ज उघोग बाणिज्य संघद्वारा यहि माघ १० गतेबाट शुरू हुने प्रादेशिक महोत्सव २०८१ को तयारी पुरा भएको छ । प्रादेशिक महोत्सवको मुख्य आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघले मङ्गलबार पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी पुरा भएको जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष टंक धामीले उद्योग, व्यापार, कृषि, पर्यटन, जडिबुटी, रोजगार, सूचना प्रबिधि र पर्यटन व्यवसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रबद्र्धन गर्ने उद्देश्यले प्रादेशिक महोत्सव २०८१ आयोजना गरिएको जानकारी दिए ।
अध्यक्ष धामीले प्रादेशिक महोत्सव २०८१ को नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) ले उद्घाटन गर्ने कार्यक्रम तय भएको बताए ।
महोत्सबमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उत्पादित खाद्य वस्तु र जडीबुटी प्रदर्शनीमा राखिने संघले जनाएको छ । महोत्सवमा कृषि, पर्यटन, अटो मोबाइल्सलका पनि स्टल हुने उल्लेख गर्दै धामीले सूचना तथा विज्ञान प्रविधि सम्बन्धी नविनतम् प्रविधिका साथै उद्यमशाला समेत प्रदर्शनीमा राखिने बताए ।
‘महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको गीत, नृत्य, लाइभ दोहोरी र हास्यब्यङ्गसहितको सास्कृतिक प्रस्तुती हुनेछ,’ पत्रकार सम्मेलनमा बितरित विज्ञप्तिमा लेखिएको छ, ‘महोत्सवमा कृषि, पर्यटन, जडीबुटी, हस्तकला, अटो मोबाइल्स लगायत ३५० वटा स्टलका साथै सूचना तथा बिज्ञान प्रबिधि सम्बन्धि नबिनतम् प्रदर्शनी, बिदेशी उधमशाला तथा उघोग प्रदर्शनी, थारू भिलेज साथै बिद्यालय स्तरीय नृत्य तारा प्रतियोगिता हुने छ ।’
उनले कतिपय प्राइभेट कम्पनीहरुले नाफाको मात्र उद्देश्य राखेर महोत्सव गर्दा महोत्सव प्रतिको धारणा गलत बन्न पुगेको उल्लेख गर्दै आफूहरुले व्यवसायिक निजी क्षेत्रलाई मात्र महोत्सवको आयोजना गर्न दिनु पर्ने राज्यसँग माग गरेको जानकारी दिए । ‘उद्योग वाणिज्य महासंघले सरकारसँग यस विषयमा छलफल गरिरहेको छ’ उनले भने ।
पत्रकारहरूको प्रश्नको जवाफ दिदै अध्यक्ष धामीले महोत्सवमा रोजगार प्रवद्र्धन सम्बन्धि प्रदर्शनी हुने बताउँदै महोत्सव आयोजना गर्न एक करोड खर्च हुँदा करिव ५० लाख रूपैयाँ आम्दानी हुने अनुमान गरिएको बताए । महोत्सवबाट आउने आम्दानी व्यवसायिक हितमा उपयोग हुने पनि उनले बताए । अध्यक्ष धामीले प्रादेशिक महोत्सबको अवलोकन लागि रू ७० र रू १०० टिकटको ब्यवस्था गरिएको जानकारी दिए । मेलामा हुने उद्यमशालाबाट स्टार्टअप बिजनेश गर्न चाहनेहरुका लगि अवसर प्रदान हुने दाबी गर्दै अध्यक्ष धामीले मेला भित्र स्थानीय उद्योगहरुको प्रयोगात्मक प्रदर्शनी समेत हुने जानकारी दिए । उनका अनुसार आयोजकले करिव ३ लाख दर्शकले मेला अवगलोकन गर्ने अपेक्षा गरेको छ ।





0 Comments