गायक राना र ‘हाउडे माया’ले तताए कोहलपुर महोत्सव

गायक राना र ‘हाउडे माया’ले तताए कोहलपुर महोत्सव

कोहलपुर १० पुष : कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एस्पो–२०८१)’ मा कलाकारहरुको प्रस्तुति शुरु भएको छ ।

नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा शुरु भएको (एस्पो–२०८१)मा दोस्रो दिन विभिन्न कलाकारले सांगितिक प्रस्तुती दिए । 

दोस्रो दिन लोक तथा दोहोरी गायक श्याम रानामगर, सिर्जना खत्री (हाउडे माया), राज कुश्मी, रेश्मा पुन, प्रेम विवश घर्तीमगरसहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुले महोत्सवको माहोल तताएका थिए । 

महोत्सवमा गायक रानाले आफ्ना उत्कृष्ट गीतहरु गाएका थिए । उनको प्रस्तुतिमा दर्शकहरु निकै झुमेका थिए । 

गायनका साथै हास्यव्यंग्यमा समेत खुबी भएका गायक राना मगरलाई महोत्सव अवलोकन गर्न आएका दर्शकहरुले साथ दिए । उनको प्रस्तुतीमा दर्शकहरुले नाचेरै साथ दिएका हुन् । ‘बसे है पाले दाई, बज्यो साढे नौ, हाइ मेरो मायालु’ लगायतका गीत गाएका उनले निकै मनोरञ्जन समेत प्रदान गरेका थिए । रानाले स्टेजबाट ओर्लर दर्शकहरुसँग साक्षतकार समेत गरेका थिए ।

उक्त अवसरमा दर्शकहरुले रानालाई दोसल्ला ओढाएर सम्मानसमेत गरे । उनले पनि आफ्नो प्रस्तुतीमा रमाएका दर्शकहरुको माग अनुसार दर्शक भएको ठाउँमा गएर हात मिलाए । उनको प्रस्तुतीमा मख्ख भएका आयोजकले रानाले गीत गाउँदा गाउँदै शीरमा रुपैयाँ पहिराइदिएका थिए । 

गायक रानापछि साँझपख कोहलपुर महोत्सवलाई झन मनोरञ्जन प्रदान गरिन्, युवा माझ निकै लोकप्रिय सिर्जना खत्री (हाउडे माया)ले ।  उनले पनि आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेकी थिइन् । उनले आफ्ना चर्चित गीतहरु मेरो एक्सको छम्मा, शिकारी नारी, नौटंकी माया, डबल माया लगायतका गीत सुनाएकी थिइन् । यस्तै गायिका रेश्मा राना, गायक राज कुश्मी लगायतले आफ्ना बेजोड प्रस्तुती दिएका थिए । 

आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो । मेलामा करीब २५० वटा व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहेका छन् । स्टल तथा प्रयोजक व्यवस्थापन संयोजक हेमन्त पुनका अनुसार स्टलबाट प्रदेशभरका व्यवसायीहरुले मनग्य लाभ लिनेछन् । महोत्सवका मुख्य आकर्षकका रुपमा राजस्थानबाट ल्याइएका दुईवटा उँट, दुई वटा हात्ती र रसियन कलाकारहरु रहेका छन् ।

यस्तै, महोत्सवमा बाल उद्यान, कृषि प्रर्दशनी, व्यापारी स्टलहरु, हात्ती सफारी, उँट प्रर्दशनी, कराते र उस्सु खेल प्रर्दशनपनि आकर्षणका रुपमा रहेका छन् । साथै मगर खाना परिकार, गुरुङ खाना परिकार, थारु परिकार, नेवार खाना परिकारका साथै अन्य जातीय खाना परिकारहरुको प्रर्दशनी गरिनुका साथै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । 

Duduwa Tato hawa Bachau Image

बिहीबार आउने कलाकारहरु

श्री भावना एम्युजमेन्ट प्रालिले व्यवस्थापन गरेको महोत्वसमा बिहीबार पनि थुप्रै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने सांंस्कृतिक संयोजक इन्द्रबहादुर गुरुङले बताए । उनका अनुसार पछिल्लो निकै चर्चामा रहेको गीत म त ढलढले गीतकी गायिका शान्ता रानी परियार, क्रिस क्षेत्री, कमल विसी ‘माल्दाई’ र थारु गायक श्याम भगौरियाको प्रस्तुती रहनेछ । 

महोत्सवमा स्थानीय कर्णाली कला केन्द्र र मनकामना कला केन्द्रको सांगितिक प्रस्तुति रहेको छ । महोत्सवमा ६७ जना भन्दा धेरै राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुती रहने कला सांस्कृतिक समितिका संयोजक ईन्द्रबहादुर गुरुङले जानकारी दिए । महोत्सव यही पुस १७ गतेसम्म सञ्चालन हुनेछ ।