इट्टाभट्टाबाट सुन निकालिदिन्छु भन्दै दुई करोड ठगी गर्ने पक्राउ

इट्टाभट्टाबाट सुन निकालिदिन्छु भन्दै दुई करोड ठगी गर्ने पक्राउ

नेपालगन्ज १० पुष : इट्टाभट्टाबाट सुन निकालिदिने प्रलोभन देखाएर दुई करोड रुपैयाँ ठगी गर्ने भारतीय नागरिकलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, बलरामपुर सिहपुरीका ४२ वर्षीय सदाबुद्दिन हलवाई रहेका छन् । उनलाई नेपालगन्ज–४, बसपार्क नजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

सदाबुद्दिनले नेपालगन्ज–१९, मोहनपुरस्थित इट्टाभट्टाको जमिनमुनि सुन रहेको र निकालिदिने आश्वासन दिएर इट्टाभट्टाका मालिक नसिर अहमद बहेनासँग पटकपटक गरी दुई करोड रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी आयूशप्रसाद जोशीका अनुसार अनुसन्धानका क्रममा तीनवटा माटोको घैँटो, ती घैँटोभित्र रहेका एक हजार ४९ थान पहेँलो धातुका सिक्का, तीनवटा पीतलको घैँटो, पुरानो देखिने धातुका एक थान चेन र गणेशको मूर्तिसहित विभिन्न सामान बरामद गरिएको छ । 

त्यसैगरी, विभिन्न आकारका ६ सय थान पत्तर, धातुबाट बनेका तीनवटा डिब्बा, उर्दु भाषामा लेखिएको एक थान किताब, भारतीय नम्बर प्लेट भएको कार र नेपाल–भारतका बैंकका चेक पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

Duduwa Tato hawa Bachau Image

उनीमाथि जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।