यसवर्ष असार दोस्रो साता मात्रै पश्चिम नेपालमा मनसुन भित्रिने

एलनिनो सुरु, तापक्रम वृद्धिसँगै मौसमी प्रणालीमा बदलावको आँकलन
यसवर्ष असार दोस्रो साता मात्रै पश्चिम नेपालमा मनसुन भित्रिने

नेपालगन्ज २ असार : जल तथा मौसम विज्ञान विभागले यस वर्ष ढिला मनसुन भित्रने जानकारी दिएको छ । प्रशान्त महासागरमा एलनिनो प्रणाली विकास भइसकेकाले नेपालको मौसमी प्रणालीमा पनि त्यसको प्रभाव देखिएको विभागले बताएको छ ।

एलनिनो भएको वर्ष नेपालमा ढिला मनसुन भित्रिएको विभागले बताएको छ । नेपालमा सरदर जुन १३ अर्थात् जेठ ३० गतेतिर मनसुन नेपाल भित्रन्छ । अघिल्लो वर्ष सरदरभन्दा १५ दिन अगावै नेपालमा मनसुन आएको थियो । तर, एलनिनो भएको वर्ष २७ जुन अर्थात असार १३ गतेसम्म लागेको छ ।

यद्यपि अहिले नेपालको मौसमी प्रणालीमा प्रश्चिमी वायु सक्रिय छ। चैतको पहिलो हप्तादेखि नै पश्चिमी वायु सक्रिय भएकाले नेपालमा प्रि–मनसुन याममा सरदरभन्दा २५ प्रतिशतसम्म बढी पानी प¥यो । मनसुन याममा एलनिनोको प्रभावका कारण सरदरभन्दा कम वर्षा हुने सम्भावना ६५ प्रतिशतसम्म रहेको विभागले जनाएको छ ।

मौसमविद् विनोद पोखरेलले एल निनो भएको वर्ष पहिला पनि ढिला मनसुन भित्रिएको बताएका छन् । र, यस वर्ष पनि त्यही प्रक्रिया दोहोरिन लागेको उनको भनाइ छ ।

यसपालि अर्को हप्ता मनसुन नेपाल भित्रने सम्भावना रहेको उनले बताएका छन् । दुइवोटा मोडलले पश्चिम नेपाल पुग्ने मिति भने अर्को हप्ताको अन्त्य अर्थात् असार १६ देखि १७ सम्म देखाएको पोखरेलको भनाइ छ ।

एलनिनो सुरु, तापक्रम वृद्धिसँगै मौसमी प्रणालीमा बदलावको आँकलन

अमेरिकाको वैज्ञानिक निकाय ‘नेसनल ओसियानिक एण्ड एटमसफेरिक एडमिनिस्ट्रेसन (एनओएए)’ का अनुसार यस वर्ष एलनिनो अत्यन्त शक्तिशाली ‘सुपर एलनिनो’ मा विकसित हुने सम्भावना छ।

यसले विश्वव्यापी मौसम प्रणालीमा परिवर्तन ल्याउनुका साथै पृथ्वीको तापक्रमलाई अझ बढाउने आकलन गरिएको छ।

एलनिनो उष्णकटीबन्धीय प्रशान्त महासागरमा समयसमयमा देखापर्ने एक प्राकृतिक मौसमी घटना हो। यसक्रममा प्रशान्त महासागरको मध्य तथा पूर्वी भागको समुद्री पानी असामान्य रूपमा तातो हुन्छ र हावाको प्रवाहमा परिवर्तन आउँछ। हावा र समुद्री तापक्रममा आउने परिवर्तनले संसारभरिको मौसम प्रणालीमा प्रभाव पार्छ।

एनओएएको ‘क्लाइमेट प्रिडिक्सन सेन्टर’ का अनुसार यस पटकको एलनिनो अत्यन्त शक्तिशाली हुने सम्भावन ६३ प्रतिशत छ। यसो भएमा यो सन् १९५० यताकै सबैभन्दा ठुला एलनिनोमध्येमा पर्नेछ। केन्द्रले शरद ऋतुसम्म एलनिनो कायम रहने सम्भावना १०० प्रतिशत रहेको र जाडोसम्म पनि जारी रहने सम्भावना रहेको जनाएको छ।

सुपर एलनिनो के हो ?

सुपर एलनिनो हुन उष्णकटीबन्धीय प्रशान्त महासागरको पानीको तापक्रम औसतभन्दा २ डिग्री सेल्सियसभन्दा बढी हुनुपर्छ। केही भरपर्दा कम्प्युटर मोडेलहरूले यस पटक त्यो सीमा निकै माथिसम्म धकेलिने संकेत दिएका छन्।

पछिल्ला केही महिनादेखि असामान्य रूपमा तातो पानीको धेरै मात्रा पश्चिमी प्रशान्तबाट पूर्वी उष्णकटीबन्धीय प्रशान्ततर्फ सरेको छ। यो तातो पानी समुद्रको सतहभन्दा करिब ६ सयदेखि एक हजार फिट तलबाट बग्दै हजारौं माइल पूर्वतर्फ अर्थात् दक्षिण अमेरिका नजिकको क्षेत्रमा पुगेको छ र अहिले समुद्रको सतहतिर उक्लिन थालेको छ।

विगतका शक्तिशाली एलनिनोहरूमा पनि यस्तै प्रकारको प्रक्रिया देखिएको थियो। सुपर एलनिनो अपेक्षाकृत दुर्लभ घटना हो। पछिल्ला सुपर एलनिनोहरू सन् २०१५–१६, १९९७–९८ र १९८२–८३ मा देखिएका थिए।

विश्वव्यापी तापक्रममा प्रभाव

एलनिनोका क्रममा महासागरबाट वायुमण्डलमा ठुलो मात्रामा ताप ऊर्जा सर्ने भएकाले यसले विश्वको जलवायुमा पनि प्रभाव पार्छ। जीवाश्म इन्धनबाट उत्पन्न मानवनिर्मित तापवृद्धिसँगै एलनिनोले थप ताप बढाउने भएकाले सन् २०२७ पृथ्वीको अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्न सक्ने सम्भावना प्रबल छ।

एलनिनोले विभिन्न क्षेत्रमा तातोलहर, बाढी र खडेरी जस्ता चरम मौसमी घटनाहरूको सम्भावना बढाउँछ। तर यसको प्रभाव स्थानअनुसार फरकफरक हुन्छ।

वैज्ञानिकहरूका अनुसार एलनिनोले मध्य तथा पूर्वी प्रशान्त क्षेत्रमा आँधीबेहरीको गतिविधि बढाउन सक्छ। उत्तरी अमेरिका, पश्चिमी क्यानडा र अलास्कामा सामान्यभन्दा तातो जाडो हुने सम्भावना छ। त्यस्तै दक्षिणी अमेरिकी क्षेत्रमा भने बढी वर्षा र अपेक्षाकृत चिसो मौसम हुने अनुमान छ।

Duduwa Tato hawa Bachau Image

यसैगरी, अस्ट्रेलिया र इन्डोनेसियामा एलनिनोका बेला बाढी, गर्मी र तापलहर बढ्ने सम्भावना बढी छ। यसले डढेलो र खडेरी निम्त्याउन सक्छ। यसका कारण गर्मीयाममा भारत तथा दक्षिण–पूर्वी एसियामा मनसुनी वर्षा कम हुनेछ। वर्षा कम हुँदा गर्मी झन् चर्किन सक्छ।

वैज्ञानिकका अनुसार एलनिनोले समुद्री तापलहर (म्यारिन हिट वेभ्स) बढाउन सक्छ। यसका कारण समुद्रको पानी असामान्य रूपमा तातो हुन सक्छ, जसले प्रवाल भित्ताहरू (कोरल) सेतो बनाउने र नष्ट गर्ने जोखिम बढाउँछ।

अध्ययनहरूका अनुसार शक्तिशाली एलनिनोले प्राकृतिक विपत्ति, खाद्य संकट जस्ता विभिन्न समस्या ल्याउन सक्छ। यस्तो भएमा आर्थिक वृद्धिदर घटाउन सकिन्छ। तर प्रत्येक एलनिनोको प्रभाव ठ्याक्कै एउटै हुँदैन।

यसपटकको सुपर एलनिनोबारे थप अनिश्चितता पनि छ। किनकि यो घटना पृथ्वीको तापक्रम पहिले नै जलवायु परिवर्तनका कारण निकै बढेको अवस्थामा भइरहेको छ। त्यसैले एलनिनोसँग सम्बन्धित चरम मौसमी घटनाहरू कति तीव्र हुनेछन् भन्ने विषय अझै अनुत्तरित छ। (सिएनएनमा आधारित) 

विभागका अनुसार एलनिनो भएका वर्ष मनसुन भित्रिएको मिति–

१९७२, १८ जुन– २०२९ असार ४ गते

१९८२, २७ जुन– २०३९ असार १३ गते

१९८३, २४ जुन– २०४० असार १० गते

१९८७, १४ जुन– २०४४ जेठ ३१ गते

१९९२, २१ जुन– २०४९ असार ७ गते

१९९७, १४ जुन– २०५४ जेठ ३१ गते

२००२, १५ जुन– २०५९ असार १ गते

२००९, २३ जुन– २०६६ असार ९ गते

२०१६, १५ जुन– २०७३ असार १ नबतभ

२०१९, २० जुन– २०७६ असार ५ गते

२०२३, १४ जुन– २०८० जेठ ३१ गते