‘कोदो उत्पादनका लागि कृषकलाई प्रोत्साहन र जमिन बाँझो नराख्ने नीति चाहिन्छ’

‘कोदो उत्पादनका लागि कृषकलाई प्रोत्साहन र जमिन बाँझो नराख्ने नीति चाहिन्छ’

नेपालगन्ज १६ साउन : ‘कोदोजन्य परिकारको आधारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ नेपालमा राष्ट्रिय कोदो दिवस मनाउन सुरु गरिएको छ ।

सरकारले कोदोजन्य बालीहरूको आयात रोक्ने, उत्पादन तथा उत्पादकत्व बढाउने, यसको महत्त्व प्रचारप्रसार गर्ने उद्देश्यसहित पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउन थालेको हो । देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनबाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने कृषिसँग सम्बन्धित निकायहरूको जिकिर छ ।

पहाडी जिल्ला भोजपुरमा भने सरोकार भएका तथा कृषकले दिवस घोषणाले मात्र सार्थकता नपाउँने भन्दै कोदो बालीलाई प्रोत्साहन गर्ने कार्यक्रमसहित जमिन बाँझो नराख्ने नीति आवश्यक रहेको बताएका छन् । कृषक राजेश विष्टले सरकारले किसानलाई प्रोत्साहन गर्ने  र जमिन बाँझो नराख्ने नीति लिनुपर्ने बताए। “प्रविधिको अधिकतम प्रयोग गरी लागत घटाउने, उत्पादन बढाउने नीति जरूरी छ । कोदो र यसको प्रयोग बढाउन खाद्य उद्योग निर्माणमा पनि सरकारले ध्यान दिनुपर्छ”, उनले भने। 

कृषक तथा भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधान कोदोले खाद्य सङ्कट पनि टार्ने भएकाले यसको उत्पादनमा जोड दिनुपर्ने र त्यसका लागि  पालिकाले कोदो उत्पादन र भण्डार कार्यक्रम ल्याउनुपर्ने बताए।  उत्पादनमा प्रोत्साहन, मूल्य निर्धारण गर्दै बजारको ग्यारेन्टी, प्रविधिमैत्री खेतीलगायत कार्यक्रमका लागि सरोकार भएकाहरू बीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

Duduwa Tato hawa Bachau Image

खाद्यका लागि कृषि अभियान नेपालका संयोजक उद्धव अधिकारीले कोदो मुख्य खाद्यान्न बालीमध्ये चौथो नम्बरमा पर्ने भएकाले नेपालले यसको उत्पादनमा लागनी गर्न आवश्यक रहेको बताए। उनले भने, “हाम्रो देशको तराईदेखि तीन हजार मिटरको उचाइसम्म उत्पादन हुने यो बाली पौष्टिकता र पर्यावरणीय हिसाबले निकै महत्त्वपूर्ण छ । कोदो भण्डारण गर्न सकिएमा खाद्यन्न सङ्कटको समस्या पनि समाधान हुनेछ।”, 

संयोजक अधिकारी कोदोमा क्याल्सियम, आइरन, प्रोटिन, खनिजलगायतका पौष्टिकताले युक्त औषधीय गुण भएकाले बालबालिका, गर्भवती, मधुमेह, रक्तचापलगायत बिरामीका लागि निकै उपयोगी रहेको बताउँछन्।

भोजपुर बहुमुखी क्याम्पसका प्राध्यापक सुरेन्द्र कार्कीले खाद्यान्नमा आत्मनिर्भर बनाउन, खाद्य सुरक्षा, पोषणमा सहयोगजस्ता कारणले पनि कोदोको महत्त्व रहेको बताए। कोदोजन्य परिकारहरूमा आधुनिकीकरण गर्दे यस बालीप्रतिको सामाजिक र सांस्कृतिक दृष्टिकोणमा परिवर्तन गर्न लाग्नुपर्ने उनको सुझाव छ ।

सुक्खा ठाउँमा पनि लगाउन सकिने र अन्य बालीमा जस्तो पानी पनि नचाहिने भएकाले कृषकका लागि कोदो बाली उपयोगी हुने कृषक रमेश श्रेष्ठको बुझाइ छ ।

मुटुरोग, स्वासप्रस्वास, पाचन प्रणाली, क्यान्सरलगायत रोगप्रतिरोधात्मक क्षमता पनि भएको विभिन्न अनुसन्धानले देखाएकाले विगतमा गरिबको खाना भनेर हेयले हेरिने यो बाली अचेल सहरबजारमा लोकप्रिय बन्दै गएको छ । -रासस