बाँकेमा वर्षा नहुँदा रोपाई भएको खेतमा धाँजा फाट्यो

आकाशमा बादल हेर्दै किसान, साउन दोस्रो सातासम्म २५ प्रतिशत जमिन बाँझै
बाँकेमा वर्षा नहुँदा रोपाई भएको खेतमा धाँजा फाट्यो

नेपालगन्ज ८ साउन : साउनको पहिलो हप्ता कटिसक्दा पनि पानी नपर्दा बाँकेका किसान चिन्तित बनेकाछन् । मानो रोपी, मुरी फलाउने यो बेला पानी नपर्दा यहाँका किसान आकाश हेर्दै बसेका छन् ।

‘आकाशमा बादल हेर्दै बसेका छौँ । पानी पर्न सकेको छैन,’ डुडुवाका किसान राजकुमार शुक्ला भन्छन्,‘पानी नपर्दा रोपाइँ गर्न पाएका छैनौँ ।’ उनले खडेरीको चिन्ता बढेको बताए ।

यो वर्ष अहिलेसम्म ठूलो पानी परेको छैन । सिक्टा सिँचाइ आयोजनाले केही क्षेत्रमा छोडेको पानी, बोरिङ, पम्पसेट, मोटर चलाएर अहिलेसम्म बाँकेमा ७५ प्रतिशत रोपाइँ भएको छ । पानीको कुनै सुविधा नभएको ठाउँको खेतमा धुलो उडिरहेको छ । जेनतेन रोपेका धेरै ठाउँमा धान सुकिसकेको छ । खेतमा धाँजा फाटेको छ ।

कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख विनोद घिमिरेले सिँचाइको सुविधा भएको राप्तीसोनारी, बैजनाथ गाउँपालिकामा धेरैँ रोपाइँ भएको र नरैनापुर, डुडुवा, जानकी गाउँपालिकामा कम रोपाइँ भएको जानकारी दिए ।

त्यसो त बाँकेमा वर्षेनीजसो धान उत्पादनको क्षेत्र घट्दै गएको छ । ३६ हजार ५ सय हेक्टरमा धान उत्पादन हुँदै आएकोमा गतवर्ष ३४ हजार ७ सय ११ हेक्टरमा धान खेती भएको थियो । समयमा पानी नपर्दा धान खेती घट्दै गएको छ । आर्थिक वर्ष २०८०÷८१ मा बाँकेमा एक हेक्टरमा ४.२ मेट्रिक टन धान फलेको थियो । आव ०७९÷८० मा प्रतिहेक्टर ३.६५ मेट्रिक टन धान फलेको थियो । कार्यालय प्रमुख घिमिरेले गतवर्ष १ लाख ४५ हजार मेट्रिक टन धान उत्पादन भएको बताए ।

पानी नपर्दा तापक्रम बढिरहेको छ । बाँकेमा ४२ डिग्री तापक्रम पुगिसकेको छ । पछिल्ला दिनमा ४० डिग्री आसपासमा तापक्रम रहेको छ । चर्काे गर्मीले यहाँको जनजीवन प्रभावित भएको छ ।

Duduwa Tato hawa Bachau Image

बाँकेमा भदौ पहिलो हप्तासम्म रोपाई हुने गर्दछ । अहिलेसम्म पानी नपरेपनि खडेरी भन्न नमिल्ने कृषिसम्बद्ध बताउँछन् । ‘यहाँ भदौसम्म रोपाइँ हुन्छ । अझै समय छ । अहिले नै खडेरी भन्न मिल्दैन,’ घिमिरे भने ।

केही वर्षयता समयमा पानी नपर्ने, किसानले जेनतेन रोपाइँ गरिसकेपछि ठूलो पानी परेर नोक्सान गर्ने गरेको छ । अघिल्लो वर्ष धान पाक्ने बेलामा ठूलो पानी परेको थियो । जसले किसानलाई ठूलो नोक्सानी पु¥यायो ।

गौरवको आयोजना सिक्टा सिँचाइँ पूर्ण नहुँदासम्म यहाँको किसानको दुःख फेरिने अवस्था देखिँदैन । आव २०६१÷६२ देखि सुरु भएको सिक्टाको काम अझै सकिएको छैन । यसमा समय घर्किरहेको छ भने आर्थिक भार थपिँदै गएको छ ।