४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम

४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम

नेपालगन्ज ७ साउन : लोकतान्त्रिक आन्दोलनका नायक, नेपाली काँग्रेसका पूर्व पार्टी सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय वीपी कोइरालाको ४३औं स्मृति दिवसका अवसरमा बाँके लगायत देशैभरि विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमको आयोजना गरी मनाइएको छ । 

स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस केन्द्रिय समिति तथा विभिन्न तहका पार्टी कार्यालयहरुले देशैभर वृक्षारोपणका साथै सभा समारोहको आयोजना गरी महामानव स्वर्गीय वीपी कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रमहरुमा वीपीको राजनीतिक, समाजिक तथा साहित्यिक योगदानको चर्चा समेत गरिएको थियो । कार्यक्रमहरुमा विभिन्न समयमा भएका लोकतान्त्रिक आन्दोलनका शहिदहरुप्रति श्रद्धाञ्जली समेत व्यक्त गरिएको थियो । स्मृति दिवस साताव्यापीरुपमा देशैभरि मनाइने काँग्रेस केन्द्रिय समितिले जनाएको छ । 

दिवसकै अवसरमा नेपाली काँग्रेस बाँकेले हिजो मङ्गलबार बिहान नेपालगञ्जस्थित वीपी चोकस्थित वीपीको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले वीपीको शालिकमा माल्यार्पण गरेका थिए । त्यस अवसरमा प्रमुख अतिथि काँग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी र जिल्ला सभापति गौडेलले महामानव वीपी कोइरालाको बिचारको बाटो काँग्रेसले छाड्न नहुनेमा जोड दिए । 


स्मृति दिवसकै अवसरमा कोहलपुर–८ पिपरीस्थित शितल बनवाटिका तथा जैविक पार्कमा बाँके काँग्रेसले वृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो । उक्त पार्कमा विभिन्न जातका ८ सय बिरुवा रोपिएका छन् । वृक्षारोपमा काँग्रेस केन्द्रिय सदस्य बाल्मिकी, सभापति गौडेल, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिवद्वय रेनु सिंह ठाकुर, विनोद कुमार थारु लगायत विभिन्न तहका पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

सचिव कोइरालाले सञ्चालन गरेको कार्यक्रममा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, पूर्व पार्टी सभापति जननायक वीपी कोइराला र संविधानका पिता, पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको तस्वीरमा केन्द्रीय सदस्य बाल्मिकी र सभापति गौडेल लगायतले माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

यसैबीच, स्मृति दिवसकै अवसरमा नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ ले बिहान कोहलपुर शिक्षण अस्पतालका एक सय जना बिरामीलाई फलफूल वितरण गरेको छ । क्षेत्रीय सभापति पोषण केसी लगायत क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्यहरु एवम् विभिन्न तहका नेता, कार्यकर्ताहरुले बिरामीहरुलाई फलफूल वितरण गरेका थिए । स्मृति दिवसकै अवसरमा क्षेत्रीय समितिले राप्तीसोनारी–८ स्थित शिवशक्ति मावि र वडा नं. ५ स्थित भुवरभवानी माविको प्रांगणमा वृक्षारोपण गरिएको छ ।

Duduwa Tato hawa Bachau Image


क्षेत्रीय सभापति केसीका अनुसार स्मृति दिवसका अवसरमा क्षेत्रीय समितिले आज साउन ७ गते राप्तीसोनारी–७ नन्कौपुरस्थित अमरज्योति माविमा पाठेघर मुखको क्यान्सरको पहिचान र बाँझोपन सम्बन्धि एक दिने शिविरको आयोजना गरेकोछ । शिविरमा नेपालगञ्जस्थित एचसीआरसीका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य सेवा दिने जनाइएको छ । 

यस्तै वीपी कोइरालाको ४३औं स्मृति दिवसकै अवसरमा प्रजातन्त्र सेनानी स्वर्गीय माया गिरीलाई मरणोपरान्त सम्मान गरिएको छ । गिरीलाई प्रजातान्त्रिक सेनानी संघ बाँकेले सम्मान गरेको हो । डुडुवा गाउँपालिकाको कम्दीस्थित पशुपतिनाथ सामुदायिक वन कार्यालय परिसरमा भएको कार्यक्रममा प्रजातन्त्र सेनानी संघको तर्फबाट स्वर्गीय गिरीका सुपुत्र टिकानाथ गिरीलाई सम्मानपत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारीले सम्मानपत्र हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा उपसभापति अधिकारी, संघका केन्द्रिय सदस्य रुपमाया बस्नेत, प्रदेश महामन्त्री जयलाल न्यौपाने, प्रदेश सदस्य गोविन्द ढकाल, जिल्ला सचिव कृष्ण सापकोटा लगायतले बोलेको थिए । संघका अर्का सचिव डिल्ली रावतले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता संघका उपाध्यक्ष परमेश्वरी पाठकले गरेकी थिइन् । सचिव सापकोटाका अनुसार दिवसका अवसरमा सोही सामुदायिक वन कार्यालय परिसरमा वृक्षारोपण समेत गरिएको थियो । 

यस्तै, महामानव वीपी कोइरालाको स्मृति दिवसका अवसरमा साउन ८, ९, १० र १२ नेपाल किसान महासंघले बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पताल प्रागंणमा वृक्षारोपण, नेपालगञ्जको हडियाबाबा मन्दिरमा सरसफाई, किसानहरुलाई निःशुल्क बीउविजन वितरण र वक्तृत्वकला प्रतियोगिता कार्यक्रम आयोजना गर्दैछ ।