हावाहुरीको वितण्डाः बिद्युत पोल र बोटविरुवा ढले, टिनका छाना उडे

हावाहुरीको वितण्डाः बिद्युत पोल र बोटविरुवा ढले, टिनका छाना उडे

नेपालगन्ज २८ चैत्र : नेपालगन्जमा हावाहुरीले वितण्डा मच्चाएको छ । पोलहरू ढालेपछि नेपालगन्ज क्षेत्रको विद्युत सेवा अवरुद्ध बन्यो । नेपालगन्जमा बुधबार राति १० बजेतिर एक्कासी ठुलो हावाहुरीसँगै वर्षा भएको थियो ।

हुरीबतासले बाँकेको कोहलपुरमा ३३ केभी प्रसारणलाइनका तीनवटा पोल ढल्दा नेपालगन्जसहित जिल्लाका केही ठाउँमा विद्युत आपूर्ति अवरुद्ध भएको हो ।

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका अनुसार नेपालगन्ज कोहलपुर मेन लाइनमा तीन, डुडुवा गाउँपालिकामा पाँच, खजुरामा एक र नरैनापुरमा एक तथा नेपालगन्ज बजार भित्र चार वटा पोलहरु ढलेर क्षतिग्रस्त भएको थियो ।

नेपालगन्ज उपमहानगरपालिका –२२ नहरपुरवामा समेत हुरीबतासले विद्युतको पोल बांगो बनाउनुका साथै तारमा जस्तापाता अड्किएको थियो ।

विद्युत सेवा अवरुद्ध हुँदा बिहीबार रातभर नेपालगन्ज क्षेत्र अन्धकार बन्यो । बुधबार राती १० बजेलेखि अबरुद्ध विद्युत सेवा विहीबार दिउँसो साढे १२ बजे मात्रै सुचारु भयो । १६ घण्टापछि अबरुद्ध विद्युत सेवा सञ्चालनमा आएसंगै नेपालगन्ज लगायतका क्षेत्रका सर्वसाधरणले राहत पाए ।

नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेका अनुसार बुधवार रातीबाटै बिहिबार विहानसम्म हावाहुरीसंगै वर्षासमेत भएकाले राती काम गर्न नसकिएकोले मर्मत सम्भार र बिद्युत सुचारु गर्न समय लागेको बताए ।

विहिबार विहान फेरी हावाहुरी आएको र वर्षा समेत भएकोले क्षतिको खोजी र मर्मत सम्भारको कार्य अवरुद्ध हुन जाँदा बिद्युत सुचारु गर्न सकिएको थिएन । 

विद्युत अवरुद्ध हुँदा केन्द्रले सार्वजनिक सूचना जारी गर्दै नेपालगन्ज लगायतका विभिन्न स्थानमा विद्युत सेवाहरू प्रभावित हुन गएको जसका कारण सेवा प्रवाहमा असर पुगेकाले मर्मत गरि सुचारु गर्न लागि परेको जनाएको थियो ।

बुधबारको हावाहुरीले जिल्लाका विभिन्न स्थानमा घर तथा टहरामा पनि क्षति पुर्याएको छ । अधिकांश ठाउँमा टिनका छाना पनि उडाएको छ । यस्तै किसानले भित्र्याउन लागेको गहुँ, मसुरो, अरहर लगायत बालीनालीमा पनि हावाहुरी र वर्षाले असर गरेको छ ।

हावाहुरीले नेपालगन्जको चारलेन सडकका ग्रिनबेल्टमा रोपिएका रुख, विरुवा पनि ढालेको थियो । केहीदिन अघि फुलेका फुलका बोटहरु सडकमा छरपस्ट ढलेका थिए । भने हावाहुरी र वर्षाका कारण विहीबार हवाई सेवा समेत प्रभावित बन्यो ।

Duduwa Tato hawa Bachau Image

यस्तै हुरीले डुडुवास्थित इलाका प्रहरी कार्यालयका बनकट्टीको जस्तापाता उडाइदिएका कारण त्यहाँस्थित प्रहरीहरू अन्य ठाउँमा आश्रय लिएर बसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए । उनका अनुसार कुनै मानवीय क्षती भने नभएपनि भौतिक तथा अन्नबाली नोक्सानी भएकोछ ।

स्मरण रहोस् गत वर्ष जेठ महिनामा यसरी नै आएको हावाहुरी र पानीले बाँकेको नेपालगन्ज, खजुरा, कोहलपुर लगायतको क्षेत्रमा ठूलो भौतिक क्षति गरेको थियो । सो बेला पनि धेरै संख्यामा विद्युतको पोलहरु ढल्दा विद्युत सेवा दुई दिनसम्म अबरुद्ध भएको थियो ।