बाँकेबाट वैदेशिक रोजगारीमा गएका एकसय ७७ को मृत्यु
- | अपराध–घटना
- २८ असार २०८१, शुक्रवार
- नेपाखबर
नेपालगन्ज २८ असार : वैदेशिक रोजगारीका लागि बाँकेबाट विभिन्न देश गएका नेपालीहरुको मृत्यु हुने गरेको तथ्यांक डरलाग्दो पाइएकोछ । पछिल्लो १४ वर्षको अवधिमा बाँकेका विभिन्न पालिकाबाट रोजगारीका लागि तेस्रो मुलुक गएका नेपालीहरुको मृत्यु हुने गरेको हो ।
आर्थिक वर्ष २०६८–६९ देखि चालु आर्थिक वर्ष २०८०–८१ को जेठ महिनासम्म १४ वर्षको अवधिमा बाँकेका विभिन्न पालिकाबाट रोजगारीका लागि विदेश गएका एकसय ७७ नेपाली नागरिकको विदेशी भूमिमा मृत्यु भएको तथ्यांकले देखाएकोछ । यसरी विदेशी भूमिमा ज्यान गुमाउने मध्ये दुई जना महिला छन् ।
आर्थिक वर्ष २०६८–६९ देखि चालु आर्थिक वर्ष २०८०–८१ को जेठ महिनासम्म १४ वर्षको अवधिमा बाँकेका विभिन्न पालिकाबाट रोजगारीका लागि विदेश गएका नागरिकको विदेशी भूमिमा मृत्यु भएको छ । यसवर्ष मात्र २३ जनाको मृत्यु भएको छ ।
वैदेशिक रोजगार बोर्डको तथ्याङ्कमा मृत्यु हुनेमा बाँकेको खजुरा गाउँपालिकाका नागरिक धेरै पाइएको छ । खजुरा गाउँपालिकाका २५ जनाको ज्यान गएको हो । बोर्डको तथ्याङ्कमा दर्ज भएको उक्त डाटा अनुसार विदेशी भूमीमा बाँकेमै सबैभन्दा बढि खजुराका नागरिकको ज्यान गएकोछ ।
यस्तै नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका १८–१८ जना, बैजनाथ गाउँपालिकाका १५ जना, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका ५–५ जना तथा डुडुवा गाउँपालिका र खजुरा गाँउपालिकाका ६–६ जना गरी ९८ जनाको ठेगाना उल्लेख छ ।
वैदेशिक रोजगारीमा गएका मध्ये बाँकेका एक सय ७७ जनाको ज्यान जाँदा अन्य ७९ जनाको पालिकागत ठेगाना उल्लेख भएको छैन् । यद्यपी ती ७९ जना बाँकेकै नागरिक भएपनि कुन पालिकाका हुन भन्ने ठेगाना उल्लेख नभएका कारण बोर्डको तथ्याङ्कमा दर्ज भएको डाटामा खुलाइएको ठेगाना अनुसार बाँकेको खजुरा गाउँपालिकाका नागरिकको मृत्यु संख्या बढी भएको हो ।
मलेसिया र साउदीमा धेरै नेपालीको मृत्यु
बोर्डको तथ्याङ्कमा दर्ज भएअनुसार बाँकेबाट वैदेशिक रोजगारीमा गएकाहरुमध्ये सबैभन्दा बढी मलेसियामा मृत्यु हुने गरेकोछ । मलेसियामा ६१ जना नेपाली कामदारको मृत्यु भएको हो । दोस्रो स्थानमा ज्यान गुमाउने बाँकेका नागरिकहरुको लिस्टमा साउदी अरब रहेकोछ । जहाँ बाँकेका ५४ जनाले ज्यान गुमाएकाछन् । यस्तै कतारमा ३० जना, युएईमा १४ जना, युनाइटेड अरब इमिरेट्समा ६ जना, कुवेतमा ४ जना, बहराइनमा ३ जनाको ज्यान गएकोछ ।
यसैगरी नेपालमा २ जना, क्रोसियामा २ जना, र अफ्गानिस्तानमा १ जनाको मृत्यु भएको छ । नेपालमा मृत्यु भएका दुई जना भने श्रम स्वीकृतिभित्र नेपाल आएर मृत्यु भएका नागरिक हुन् । यस्तै, वैदेशिक रोजगारीका क्रममा क्यान्सर, कोभिडलगायतका विभिन्न रोगबाट ४९ जना, प्राकृतिक मृत्यु भएका ४१ जना, हृदयघातबाट ३० जना, सडक दुर्घटनाबाट २३ जना, आत्महत्या गरेका १३ जना, अन्य कारणबाट ११ जना, कार्यस्थलमा दुर्घटनाबाट ८ जना र मृत्युको कारण थाहा नभएका २ जनाको मृत्यु भएको छ ।





0 Comments