एम्सको नेपाल दूतमा नेपालगन्जका ठकुरी नियुक्त

एम्सको नेपाल दूतमा नेपालगन्जका ठकुरी नियुक्त

नेपालगन्ज १ माघ : नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को एम्बासडर (दुत) नियुक्त भएका छन् । एम्सका नवनिर्वाचित अध्यक्ष पाको बोराओले हालै ठकुरीलाई नेपालका लागि एम्सको दुत नियुक्त गरिएको मनोनयन पत्र पठाएका हुन् ।

‘हामी तपाईंसँगको सहकार्यले विश्वभर रोड रनिङलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने एम्सको लक्ष्य प्राप्ति हुने अपेक्षा गर्दछौं’ अध्यक्ष बोराओले पत्रमा उल्लेख गरेका छन्, ‘तपाईंको नेपालगन्ज म्याराथन आयोजकका रुपमा लामो समयको अनुभवलाई आत्मसात गर्दै हालै सम्पन्न एम्सको वल्र्ड कंग्रेसमा तपाईंको उत्कृष्ट प्रस्तुति हेरेपछि हामी तपाईंलाईं नेपालका लागि दुत नियुक्त गर्ने निर्णयमा पुगेका हौं । तपाईंले नेपालमा रोड रनिंगको विकासमा एम्सको प्रतिनिधित्व गर्दै समन्वय गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं ।’

नेपालगन्ज म्याराथन नेपालबाट एम्सको पुर्णकालीन सदस्यता प्राप्त गर्ने पहिलो म्याराथन आयोजक हो । एम्सको इतिहासमा पहिलोपटक जापानको ओसाकामा भएको २३औं वल्र्ड कंग्रेसमा ठकुरीले नै भाग लिएका थिए । विश्व समुदायलाई नेपालसम्बन्धि जानकारी गराउन ठकुरीले नेपाल रनिङ म्यागजिन समेत प्रकाशन गर्दै आएका छन् ।

एम्सको दुतका रुपमा ठकुरीले एम्सका सदस्यता विषयमा नेपालभित्र रेस डाइरेक्टर तथा आयोजकलाई सुचित गर्नुपर्नेछ । साथै एम्सका गतिविधिलाई समन्वयकर्ताका रुपमा कार्य गर्नु, रनिङ समुदायमा हुने विवाद वा त्यस्ता विषयका बारेमा एम्सको बोर्ड समक्ष निरन्तर रिपोर्टिङ गर्नुपर्नेछ । एम्सको उद्देश्य र सदस्यताबाट हुने फाइदाका बारेमा रेस डाइरेक्टरलाई बुझाउँदै सदस्यता विस्तार कार्यलाई प्रवद्र्धन गर्नुपर्नेछ ।

एम्सको दुत नियुक्त भएपछि नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले खुशी व्यक्त गर्दै उनले सिंगो नेपालगन्जवासीप्रति आभार प्रकट गरे । ‘धारा नेपालगन्ज म्याराथनसँग सहकार्य गर्ने राज्यका निकाय तथा प्राइभेट सेक्टर तथा समस्त सराकोरवाप्रति आभारी छु’ ठकुरीले भने, ‘सिंगो नेपालगन्जवासीलाई धन्यवाद दिन चाहन्छु ।’

नेपालगन्ज म्याराथनले एक दशक यात्रा पुरा गर्ने क्रममा कर्णाली हाफ म्याराथन, नेपालगन्ज १० किमी नाइट रन, राप्तीसोनारी नेचर रन र गौघाट ग्रीन रन पनि सुरुवात भएको छ । यसैगरी बौद्धिक बहस गर्ने थलोका रुपमा नेपालगन्ज कनक्लेभ समेत निरन्तर हुँदै आएको छ ।

खेलकुद संस्कृति प्रवद्र्धनमा समर्पित भएका कारण इटलीको मिलानमा हेडक्वार्टर रहेको विश्वव्यापी संस्था फेडरेसन अफ इन्टरनेसनल सिनेमा टेलिभिजन स्पोटर््स(फिक्ट्स)ले समेत यअसघि ठकुरीलाई नेपालका लागि दुत नियुक्त गरिसकेको छ ।


अब ठकुरीले दुईवटा अन्तर्राष्ट्रिय संस्थाका लागि नेपालको दुत भएर काम गर्ने अवसर प्राप्त गरेका छन् । यसले भावी पुस्तालाई यी दुवै फोरम सिक्ने अवसर प्राप्त हुने ठकुरीले बताए । यी दुवै जिम्मेवारीले नेपालमा दौड संस्कृतिको प्रवद्र्धनमा आक्रामक ढंगले अघि बढ्दै समग्र खेलकुद संस्कृतिको विकासमा लाग्न अभिप्रेरित गरेको ठकुरीले बताएका छन् ।

एम्स संसारभर एक सय बीस देशमा झण्डै साढे चार सय रेस आयोजकहरु सदस्य भएको विश्वव्यापी संरचना भएको संस्था हो । एम्सको हालै भियतनामको हनोईमा भएको २४औं वल्र्ड कंग्रेसमा नेपालगन्ज म्याराथनले २५औं वल्र्ड कंग्रेस नेपालमा आयोजना गर्नका लागि दाबी पेश गर्दा ६५ मत प्राप्त गर्न सफल भएको थियो । त्यसमा नर्वेको मिडनाइट सन म्याराथनले ८७ मत प्राप्त गरी वल्र्ड कंग्रेस आयोजनाको अधिकार लिएको थियो ।

Duduwa Tato hawa Bachau Image

दशौं धारा नेपालगन्ज म्याराथन गत मंसिर २२ गते सम्पन्न भएको थियो । नेपाली सेनाका खडकबहादुर खड्काले उपाधि जितेका थिए । त्यसैगरी हाफ म्याराथनमा सन्तोषी श्रेष्ठले लगातार चौथोपटक उपाधि रक्षा गर्न सफल भएकी थिइन् ।