६७ लाखको सुनसहित भारतीय नागरिक सर्राफ पक्राउ

६७ लाखको सुनसहित भारतीय नागरिक सर्राफ पक्राउ

नेपालगन्ज १६ असोज : महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५, रातमाटेबाट मकवानपुर प्रहरीले बिलबिजक नभएको ६७ लाखको सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

मकवानपुर प्रहरीले मङ्गलबार प्रहरी चेकपोस्टअगाडिबाट ४९० ग्राम ८८० मिलिग्राम अवैध सुनसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सुनको हालको बजार मूल्य ६७ लाख ३४ हजार पाँच सय ४४ रुपियाँ रहेको छ । 

मकवानपुर प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार विशेष सूचनाको आधारमा वीरगन्जबाट हेटौँडा आउँदै गरेको बा प्रदेश ०३–००१ज ६९६ नम्बरको यात्रुबाहक इभी माइक्रोलाई रोकेर जाँच गर्दा माइक्रोमा सवार भारतको विहार बस्ने ३४ वर्षका सुजित सर्राफको साथबाट उक्त परिणामको सुन बरामद भएको हो ।

सर्राफको शरीर खानतलासी गर्दा खुट्टाको पैतालाको भागमा कालो टेपले बेरी बिस्कुटको आकारको टुक्रा ४ थान, बिस्कुटको सानो टुक्रा एक थान र एक थान सिक्रीसमेत लुकाई उक्त परिणामको सुन ल्याएको प्रहरी निरीक्षक सापकोटाले बताए । 


Duduwa Tato hawa Bachau Image

सर्राफसँग सुनको बिलबिजक केही नभएकाले नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रियाअगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।