राष्ट्रिय ग्रिडमा जोडिँदै दुई सय ७० मेगावाट विद्युत

राष्ट्रिय ग्रिडमा जोडिँदै दुई सय ७० मेगावाट विद्युत

File Photo

नेपालगन्ज ९ असोज : एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको दुई सय ७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने भएको छ ।

लामो समयदेखि विवाद रहँदै आएको सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको एक सय दुई मेगावाट तथा रसुवाको रसुवागढी जलविद्युत् आयोजनाको उत्पादित एक सय ११ मेगावाट, माथिल्लो साञ्जेनको १४ दशमलव आठ मेगावाट र साञ्जेन जलविद्युत् आयोजनाको ४२ दशमलव पाँच मेगावाट विद्युत् एक महिनाभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन लागेको हो ।

नुवाकोटको पैरेबेंसीमा निर्माण भएको त्रिशूली थ्री बी हब २२०.१३२.३३ केभी (३२० एमभिए) क्षमताको सवस्टेशन र रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४ स्थित थम्बुचेतमा निर्माण भएको चिलिमे हव २२०/१३२/३३ केभी (३२० एमभिए) क्षमताको सवस्टेशन र २८ किलोमिटर चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको काम समयमा सम्पन्न नहुँदा उत्पादित विद्युत् खेर जाने अवस्था रहेकोछ ।

रसुवा र नुवाकोटका विभिन्न आयोजनाबाट उत्पादित विद्युत् त्रिशूली थ्रीबी हब २२०.१३२.३३ केभी (३२० एमभिए) क्षमताको सवस्टेशनबाट उक्त जलविद्युत् काठमाडौँको मातातीर्थ सवस्टेशनमा पुर्याइनेछ।

चिलिमेदेखि त्रिशूली हबसम्मको २८ किलोमिटरको प्रसारण लाइनमध्ये २० किलोमिटरको डबल सर्किट लाइन (५१ वटा टावर) र आठ किलोमिटरको चार सर्किट लाइन (२४ वटा टावर) छन् ।

चार सर्किट लाइन रहेको आठ किलोमिटर टावरमा निर्माणाधीन अपर त्रिशूली एक (२१६ मेगावाट)बाट उत्पादन हुने विद्युत्लाई त्रिशूली थ्री बी हबसम्म जोडी राष्ट्रिय प्रसारण ग्रीडमा विद्युत् प्रवाह गरिनेछ ।

Duduwa Tato hawa Bachau Image

प्रसारण लाइनका लागि आवश्यक ७५ वटै टावरको फाउण्डेसन निर्माण भए तापनि हाल त्रिशुली थ्रि वी हवको छेउमा (६०० मिटर), मैलुङबेसी (१२३५ मिटर) र हाकु (१४०० मिटर)मा तार तान्ने काम भइरहेको छ ।