नेपाल पत्रकार महासंघ बाँके शाखामा तालाबन्दी
नेपालगन्ज ३० भदौ : नेपाल पत्रकार महासंघ, बाँके शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ । प्रेस चौतारी र प्रगतिशील पत्रकार समूहले संयुक्तरुपमा सदस्यता शुद्धिकरण विभेदकारी भएको भन्दै तालाबन्दी गरेका हुन् ।
पत्रकार महासंघको असोज १२ गते चुनावको मिति तोकिएको छ । महासंघले भदौ २९ गते शनिबार अन्तिम नामावली प्रकाशन गरेको थियो ।
अन्तिम नामावलीमा प्रेस युनियन र प्रेस सेन्टरको धेरै सदस्य थपिएर आएपछि चौतारी र प्रगतिशीलले असहमति जनाएका हुन् ।
पत्रकारितासँगै अन्य पेशामा एकै प्रकृतिका काम गर्नेमा विभेद भएको आन्दोलनकारीको भनाई छ ।
प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायले शुद्धिकरण र नयाँ सदस्यता थप्दा विभेद भएको बताए । उनले निष्पक्ष रुपमा शुद्धिकरण गर्न आग्रह गरे ।
नयाँ सार्वजनिक गरिएको मतदाता नामावलीमा चरम लापरवाही र विभेद गरिएको भन्दै तालाबन्दी गरिएको प्रगतिशिल पत्रकार संघका बाँके संयोजक तिलक गाउँलेले बताए । गाउँलेले बाँकेको सदस्यता सूची नसच्याएसम्म निर्वाचन हुन नदिने पनि बताए । पत्रकारितासँगै एनजिओमा काम गर्ने, शिक्षण पेशामा लागेकाहरु प्रेस युनियन र प्रेस सेन्टरले सदस्यता जोगाउने र थप्ने काम गरेको तर, त्यही प्रकृतिको काम गर्ने चौतारी र प्रगतिशील आवद्ध रहेकाको सदस्यता फालिएको आन्दोलनकारीको दावी रहेको छ ।
महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले राजिनामा दिएपछि कार्यबाहक अध्यक्ष रमेश बिष्टले नयाँ मिति तय गर्दै निर्वाचन समितिलाई सिफारिस गरे अनुसार हिजो शनिबार मात्र महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको थियो । सोही अनुरुप नयाँ मतदाता नामावली सार्वजनिक भएको थियो ।





0 Comments