एमालेको आन्तरिक विश्लेषण : बाँकेमा एउटा मात्रै प्रत्यक्ष सिट जित्ने

एमालेको आन्तरिक विश्लेषण : बाँकेमा एउटा मात्रै प्रत्यक्ष सिट जित्ने

नेपालगन्ज ७ फागुन : नेकपा एमालेको आन्तरिक विश्लेषणले बाँकेको एक निर्वाचन क्षेत्र मात्र जित्न सक्ने देखाएकोछ । यद्यपी त्यो कुन निर्वाचन क्षेत्र भन्नेबारे उल्लेख गरिएको छैन । 

नेकपा एमालेको आन्तरिक विश्लेषणले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ सिट बढ्ने र समानुपातिकतर्फ केही मत घट्ने देखाएको हो ।

एमालेको निर्वाचन परिचालन कमिटी र आन्तरिक सर्वेक्षण टोलीले देशभरिका १६५ निर्वाचन क्षेत्रको अध्ययन गरेको थियो । सोही सर्वेक्षणले यस्तो देखाएको हो ।

प्रदेशगत र निर्वाचन क्षेत्रगत रुपमा केन्द्रित भएर मतदाताको सर्वे गरेको एमालेले लुम्बिनी प्रदेशको विश्लेषणमा बाँकेमा प्रत्यक्षतर्फ एउटा मात्र निर्वाचन क्षेत्रमा जित हाँसिल गर्ने विश्लेषण निकालेको हो ।

२६ क्षेत्र रहेको लुम्बिनीमा अघिल्लो (२०७९ सालको) पटकको चुनावमा एमालेले ११ क्षेत्र जितेको थियो । तर, यसपटक ती क्षेत्र जोगाउन चुनौती थपिएको आन्तरिक सर्वेले देखाएको नेताहरू बताउँछन् ।

एमालेले अहिलेसम्म बाँकेको एक निर्वाचन क्षेत्रसहित ८ क्षेत्र ढुक्कले जित्नेमा राखेको छ । रुपन्देही र दाङका केही क्षेत्र जित्ने सूचीमा छ । तर, बढी मेहनत गर्नुपर्नेमा भनिएको छ । विगतमा कुनै सिट जित्न नसकेको एमालेले कर्णालीमा यसपटक ठूलो आशा राखेको छ ।

बाँकेमा तीन वटा निर्वाचन क्षेत्र रहेको छ । निर्वाचन क्षेत्र नम्बर–१ मा सूर्य ढकाल, क्षेत्र नम्बर–२ मा मोहम्मद इस्तियाक राई र क्षेत्र नम्बर–३ मा सुमन मल्ल नेकपा एमालेका उम्मेदवार हुन् ।

एमालेका केही नेताहरूका अनुसार चुनावमा एमालेको देशव्यापी अवस्था आँकलन र विश्लेषण गर्ने कामको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीसँग निकट रहेर विष्णु रिमालले गरिरहेका छन् । 

Duduwa Tato hawa Bachau Image

एमालेले २०७९ मंसिरमा भएको निर्वाचनमा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको थियो । यसपटक प्रत्यक्षमा सुधार हुने आफूहरुले गरेको सर्वेक्षणले देखाएको सो पार्टीका नेताहरुले बताएका छन्।

सहरी क्षेत्र, सामाजिक सञ्जालले प्रभाव पार्ने ठाउँमा मत घट्ने आन्तरिक सर्वेले देखाएको छ। ग्रामीण क्षेत्रमा प्रभाव कायमै रहेको, कतिपय ठाउँमा माहोल बढिरहेको छ।

यसबाट एमालेका नेताहरूले रास्वपाका नेता रवि लामिछाने र बालेन्द्र साहलाई लक्षित गरेर ‘सामाजिक सञ्जालको लोकप्रियता भोटमा परिणत हुँदैन’ भन्दै आए पनि त्यही कारण शहरी क्षेत्रमा मत घट्न सक्ने उनीहरूकै सर्वेले देखाइदिएको छ। 

सर्वेका क्रममा डाटा संकलन र विश्लेषणका लागि केही विज्ञहरूको सहयोग लिएको थियो ।