मतदातासँग बिष्टको जनसंवाद : समयमै समस्या समाधान गर्ने दृढ प्रतिबद्धता
नेपालगन्ज २७ माघ : बाँके क्षेत्र नं. २ मा चुनावी सरगर्मी चुलिँदै जाँदा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले जनतासँग प्रत्यक्ष भेटघाटलाई निरन्तरता दिएकाछन् । यही क्रममा उनले डुडुवा गाउँपालिका–५ र नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का विभिन्न टोल–बस्तीमा पुगेर मतदातासँग आत्मीय संवाद गरेका हुन् ।
भेटघाटका क्रममा उम्मेदवार बिष्टले स्थानीय बासिन्दाका दैनिकीसँग जोडिएका समस्या, आवश्यकता र अपेक्षाहरू ध्यानपूर्वक सुने । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारी र युवाका अवसरजस्ता विषयमा केन्द्रित छलफलले कार्यक्रमलाई केवल चुनावी प्रचारमा सीमित नराखी विश्वासको संवादमा रूपान्तरण गरेको स्थानीयहरू बताउँछन् ।
डुडुवा–५ मा भएको भेटघाटमा ग्रामीण जीवनका चुनौतीहरूबारे खुलेर कुरा उठेका थिए । किसान, मजदुर र सर्वसाधारणले आफ्ना समस्या राख्दा बिष्टले “समय अनुसार र प्राथमिकताका आधारमा जनताका माग पूरा गरिनेछ” भन्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरे । उनको यो भनाइले उपस्थित स्थानीयमा आशा र भरोसा थपिएको देखिन्थ्यो ।
यस्तै, नेपालगन्ज–६ मा भएको जनभेटघाटमा शहरी समस्याहरू—ढल व्यवस्थापन, रोजगारी, युवाको भविष्य र सामाजिक सेवाका विषयहरू प्रमुख रूपमा उठेका थिए । उम्मेदवार बिष्टले सबै सुझावलाई आफ्नो कार्यसूचीको आधार बनाउने र प्रतिनिधि बनेपछि व्यवहारमै देखिने गरी काम गर्ने प्रतिबद्धता दोहोर्याए ।
स्थानीय मतदाताहरूका अनुसार दिपेन्द्र बिष्टको कुरा गर्ने शैली सरल, स्पष्ट र जिम्मेवार छ । “उहाँ वाचा मात्र गर्नुहुन्न, कहिले र कसरी गर्ने भन्ने कुरा पनि भन्नुहुन्छ,” एक स्थानीयले प्रतिक्रिया दिए ।
डुडुवा–५ र नेपालगन्ज–६ मा देखिएको यो जनसमर्थन र संवादले बाँके क्षेत्र नं. २ मा दिपेन्द्र बिष्टप्रति बढ्दो विश्वासलाई अझ स्पष्ट बनाएको छ । जनताको कुरा सुन्ने, समयमै काम गर्ने र व्यवहारबाट प्रमाणित गर्ने प्रतिबद्धताले उनको चुनावी अभियानलाई थप मजबुत बनाउँदै लगेको स्थानीय विश्लेषकहरूको बुझाइ छ ।





0 Comments