‘काँग्रेसले मात्रै मुलुकलाई निकास दिन सक्छ’ : गौडेल

‘काँग्रेसले मात्रै मुलुकलाई निकास दिन सक्छ’ : गौडेल

नेपालगन्ज २५ माघ : नेपाली काँग्रेस बाँकेका पार्टी सभापति नारायण प्रसाद गौडेलले कार्यकर्ताले चाहेजस्तै काँग्रेस बदलिएर आएको बताएका छन् ।

नेपाली काँग्रेस क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका सभापति गौडेलले शनिबार कोहलपुर नगरपालिका वडा नं.८ पिपिरीस्थित सरस्वती चोकमा वडाले निर्वाचन प्रचारका लागि स्थापना गरेको सम्पर्क कार्यालय उद्घाटन गर्दै कार्यकर्ताले काँग्रेसमा जस्तो रुपान्तरण खोजेका थिए, त्यस्तै रूपान्तरण भएर पार्टी आएको बताए । उनले त्यसका निम्ति मत दिएर पार्टीलाई बलियो बनाउन आग्रह गरे ।

यसैगरी निर्वाचन अनुगमन समितिका संयोजक कमल भुषालले रूपान्तरित काँग्रेसले मात्रै मुलुकलाई निकास दिन सक्ने भएकाले मतदाताहरूलाई भावनामा नबग्न आग्रह गरे । नेपाली काँग्रेसका उपसभापति कृष्ण कार्कीले पार्टी एकढिक्का भएर चुनावी अभियानमा होमिएकाले मतदाताहरूलाई अलमलमा नपर्न आग्रह गरे ।

क्षेत्रीय सभापति पोषण केसीले मुलुकको हरेक परिवर्तन र त्यसलाई संस्थागत गर्ने सवालमा काँग्रेसको नेतृत्वले मात्र सम्भव हुने भएकाले वर्तमान विषम परिस्थितिमा पनि काँग्रेसको विकल्प नभएको बताए । महासमिति सदस्य पूर्ण प्रसाद आचार्यले गौडेल तत्कालीन द्वन्द्वकालमा सबैका सारथी बनेर काम गरेको उल्लेख गर्दै कोहलपुरका लागि मात्र नभई राप्तीसोनारी र नरैनापुरवासीले समेत स्थानीय नेताका रुपमा चित्रण गर्दै आएको बताए । उनले भावनात्मक रुपमा मतदान नगर्न आग्रह गर्दै सुझबुझ र विवेक प्रयोग गर्न आग्रह गरे ।

वडा सभापति बेलबहादुर बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा महासमिति सदस्यहरु लुटबहादुर खत्री, द्रोपती ओली, महाधिवेशन प्रतिनिधि संगिता सुवेदी, भानुभक्त भट्टराई, कृष्ण विकलगायतको उपस्थिति रहेको थियो । विष्णु अधिकारीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन वडा सचिव देवराज रानाले गरेका थिए । 

Duduwa Tato hawa Bachau Image

यसैगरी शनिवार नै राप्तीसोनारी गाउँपालिकाका वडा नं.८ र ९ मा प्रचारप्रसार कार्यालय स्थापना गरिएको छ । वडा नं.८ मा वडा सभापति नरेन्द्र विक्रम ओली र वडा नं.९ मा वडा सभापति पूर्ण बहादुर ओलीको सभापतित्वमा प्रचारप्रसार कार्यालय स्थापना भएको छ ।

कार्यक्रममा पार्टी सभापति तथा प्रतिनिधिसभा सदस्य पदका प्रत्यक्षतर्फका उम्मेदवार गौडेल, समानुपातिक उम्मेदवार दीप नारायण वर्मा, क्षेत्रीय सभापति पोषण केसी, पार्टीका पूर्व उपसभापति लाहुराम थारु, महासमिति सदस्य महावीर ओली लगायतले बोलेका थिए । त्यसक्रममा त्यहाँका स्थानीयबासीले वन्यजन्तु जनावरबाट झेल्नु परेको समस्या र त्यसको समाधानमा सहयोग गर्न आग्रह गरेका थिए ।