काँग्रेसले जेनजीको भावना अनुरुप देश निर्माण गर्छ : अमर
नेपालगन्ज २५ माघ : बाँके क्षेत्र नम्बर– ३ का जेनजी युवाले वर्तमान अवस्थामा नेपाली काँग्रेसका उम्मेवार अमरसिंह पुनले नेपाली काँग्रेस जेनजी युवाको सपना पूरा गर्ने पार्टी भएको बताएका छन् ।
बाँके क्षेत्र नम्बर–३ मा नेपाली काँग्रेसको तर्फबाट लुम्बिनी प्रदेश सभापति पुनले उम्मेदवारी दिएका छन् । जेनजी युवा देखेको सपना पूरा गर्ने प्रतिवद्धता जनाउँदै पुनले भने, ‘म जेनजी युवालाई स्पष्ट पार्न चाहन्छु, यहाँ जेनजीको मर्म र मुद्दालाई गलत ठाउँमा प्रयोग गर्ने प्रयास गरिएको छ । जेनजीको जोश र उत्साह देशको समृद्धिको लागि, विकासको लागि प्रयोग हुनुपर्छ ।’
जेनजी आन्दोलनलाई गलत रुपमा प्रयोग गर्ने प्रयास भइरहेको बारेमा जेनजी सचेत हुनु जरुरी रहेको पुनले बताए । उनले भने, ‘देशभरका सरकारी कार्यालय र कागजात जलेर नष्ट भए । महत्वपूर्ण संरचना ध्वस्त भएका छन् । धेरै सरकारी कार्यालय जल्दा जनताले नै दुःख पाउनु परेको छ । युवा जेनजीले उठाएका सकारात्मक मुद्धालाई पनि दबाउने प्रयास गरिएको छ । काँग्रेस जेनजीको भावनालाई सम्बोधन गरेर उहाँहरुको शक्तिलाई देश निर्माण लगाउन चाहन्छ ।’ जेनजी युवालाई आफ्नो बारेमा आफ्नो धारणा सार्वजनिक गरेकोमा धन्यवाद दिँदै पुनले बाँके क्षेत्र नम्बर –३ को अधुरा योजनालाई पूरा गर्दै यस क्षेत्रको समग्र विकासमा इमानदारितका साथ काम गर्ने बताए ।
सो क्रममा उपस्थित जेनजी युवाहरुले पुनलाई विजयी गराउनुपर्ने बताए । बदलिँदो परिस्थितिमा बाँके क्षेत्र नम्बर–३ को समृद्धि र विकासको लागि पुनलाई विजयी गराउन आवश्यक रहेको धारणा जेनजी युवाले सार्वजनिक गरेका हुन् ।
खजुराका आदित्य सुनारले बाँके क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसका नेताले थुप्रै विकास निर्माणका योजना सम्पन्न गरेकाले आसन्न प्रतिनिधि सभा निर्वाचनमा काँग्रेस उम्मेदवार पुनलाई विजयी गराउनुपर्ने धारणा व्यक्त गरे । जेनजीको भावनालाई समेटेर काम गर्न सक्ने पार्टी कांग्रेस भएकोले पुनलाई विजयी गराउनुपर्ने उनले बताए ।
आदित्यले भने, ‘नेपाली काँग्रेसका नेता किशोर सिंह राठौर र बादशाह कुर्मीले थुप्रै विकास निर्माणका कामहरु गर्नुभयो । उहाँको कार्यकालमा आर्थिक सुशासन र विकास निर्माणको क्षेत्रमा थुप्रै सकारात्मक काम भएका छन् ।’ अर्का जेनजी युवा सौरभ रानाले आफूहरुको रोजाईको नेता अमरसिंह पुन भएको बताए । जेनजी आन्दोलनको मर्मलाई सम्बोधन गर्न सक्ने पार्टी काँग्रेस भएको उनले बताए ।





0 Comments