काँग्रेस महाधिवेशन पुस २७ देखि ३० गतेसम्म
तालिका सार्वजनिक गर्ने काँग्रेसको तयारी
नेपालगन्ज १४ मंसिर : नेपाली काँग्रेसको १५ औँ महाधिवेशन आगामी पुसको अन्तिम साता गर्नेगरी नेताहरू सहमतिउन्मुख भएका छन् । सभापति शेरबहादुर देउवा निकट नेता रमेश लेखकका अनुसार नेताहरूबिच उक्त कुरामा लगभग सहमति जुटेको छ ।
‘पुसको २७, २८, २९ र ३० गतेसम्म महाधिवेशन गर्नेगरी लगभग सहमति जुटेको छ । सबैजसो नेताहरू त्यहीमा सहमतिउन्मुख छन् ।’ उनले बताए ।
‘मैले डेढ महिना पहिले नै यो प्रस्ताव राखेको थेँ । त्यो बेलामा एक्लै थिएँ । पछि सबै साथीहरू थपिए । सभापतिजीले पनि यही ठीक हो भन्नुभयो ।’ उनले भने, ‘मैले यही कुरा पहिल्यै देखि राख्दैआएको थिए । सबै नेताहरू यही कुरामा सहमत हुनुभएको छ ।’
नेपाली काँग्रेसभित्र पार्टीको नियमित महाधिवेशन र विशेष महाधिवेशनको विषयले लामो समयदेखि विवाद चर्किँदो छ । खासगरी महामन्त्री गगनकुमार थापाले नियमित महाधिवेशन अब सम्भव नभएको भन्दै विशेष महाधिवेशनको विकल्प नभएको बताउँदै आएका छन् ।
उनीसहितको सक्रियतामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै पार्टी कार्यालयमा हस्ताक्षरसमेत बुझाएका छन् । हस्ताक्षर बुझाएको ९० दिनभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ ।
विशेषको समयअवधिभित्रै नियमित महाधिवेशन सुरु गरेर विशेषको प्रस्तावलाई थाती राख्ने रणनीतिमा संस्थापन लागेको हो ।
सभापति शेरबहादुर देउवासहित उनको समूहका नेताहरूले भने विशेष नगरी नियमितमा जोड दिँदै आएका छन् । देउवा समूहकै पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलासहित नेताहरू भने वैशाखमा महाधिवेशन गर्नुपर्ने र त्यसअघि निर्वाचनको तयारीमा लाग्नुपर्ने पक्षमा छन् ।
असोज २८ गतेदेखि यही वरिपरि कांग्रेस केन्द्रीय समिति बैठक रुमल्लिएको छ। असोज २८ गते उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर उपचारका लागि देशबाहिर गएका देउवा एक महिनापछि फर्किँदासम्म नेताहरूले सहमति जुटाउन नसकेपछि आफैँ सहजीकरणका लागि सक्रिय भएका छन् ।
पछिल्लो तीन दिन लगातार देउवाले महाधिवेशन केन्द्रित रहेर नेताहरूसँग छलफल गरिरहेका छन् ।
नेताहरूबीच सहमति नहुँदा केन्द्रिय समिति बैठक कार्यवाहक सभापति खड्काले सार्दै आइरहेका छन् । पछिल्लोपटक सोमबारसम्मलाई बैठक सारिएको छ ।





0 Comments