विद्युत् अनियमितता विरुद्ध प्राधिकरणलाई ज्ञापनपत्र

विद्युत् अनियमितता विरुद्ध प्राधिकरणलाई ज्ञापनपत्र

नेपालगन्ज ३० जेठ : नेपालगन्जको विद्युत् अनियमितताविरुद्ध नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रलाई शुक्रवार ज्ञापन पत्र बुझाइएको छ । 

नेपालगन्जको चर्काे गर्मी, विद्युतको मनपरी, नागरिकहरुलाई सास्ति कहिले सम्म ? भन्ने प्रश्न गर्दै बास नेपालको अगुवाईमा नागरिक समाज नेपालगन्जका तर्फबाट नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज बितरण केन्द्रको गेटमा आधा घण्टा धर्ना दिएर ज्ञापनपत्र बुझाइएको हो । 

नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठले विद्युत प्राधिकरणको मनपरीका कारण भइरहेको विद्युत अनियमितताका कारण चर्काे गर्मीमा नेपालगन्जबासीहरु पीडित भएकोले धर्नासँगै ज्ञापन बुझाउनु परेको बताए ।

कार्यक्रममा बोल्दै बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले प्राविधिक कारण देखाएर विद्युत प्राधिकरण पन्छिन खोजेको आरोप लगाए । 

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठ, गैसस महासंघ नेपाल बाँकेका उपाध्यक्ष मन भण्डारी, सचिव रमेश सिटौला लगायतले नेपाल विद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रका निमित्त प्रमुख बुद्धिसागर भुसाललाई ज्ञापन पत्र हस्तान्तरण गरे ।

ज्ञापनपत्र बुझ्दै नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका निमित्त प्रमुख भुसालले विद्युत् नियमित गर्न आफूहरु रातदिन खटेको जनाउँदै समस्या समाधानका लागि थप जोडबल गर्ने बताए ।

हस्तान्तरण गरिएको ज्ञापन पत्रमा नेपालकै बढि गर्मी हुने सहर मध्येको एक सहर नेपालगन्जको चर्काे गर्मीमा सधैं नेपालगन्जबासीहरु विद्युत अनियमित हुँदा सास्ति भोग्न बाध्य भएको, हरेक वर्षको गर्मी समयमा जस्तै यस वर्षको गर्मीयाम शुरु भएसँगै विद्युत् प्राधिकरणको मनपरी, अर्कमण्यता सुरु भएको उल्लेख छ । 

Duduwa Tato hawa Bachau Image

‘कानूनी र कागजी रुपमा नेपालगन्ज लोडसेडिङ् मुक्त छ तर अघोषित लोडसेडिङ छ । अदालतको आदेशलाई अवहेलना नगरे जस्तो हुने गरि अघोषित लोडसेडिङ गर्ने गरिएको छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘विभिन्न प्राविधिक कारण देखाई विद्युत् सेवा अवरुद्ध गर्ने गरेको छ । वर्षभरि कानामा तेल हालेर सुत्ने गर्मीयाममा ग्राहकहरुलाई सास्ति दिँदै विभिन्न बहानामा विद्युत अनियमित गर्नु गैर जिम्मेवारीको परकाष्टा हो ।’ 

ज्ञापन पत्रको अन्त्यमा भनिएको छ, ‘अन्थथा चरणबद्ध दवावका कार्यक्रममा जान हामी बाध्य हुने व्यहोरा अनुरोध छ ।’ ज्ञापन पत्रमा गैसस महासंघ नेपालका केन्द्रिय सचिव नमस्कार शाह, नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्ट, युवा घरका सहसचिव जानकी बिक, गैसस महासंघ नेपाल बाँकेका उपाध्यक्ष मन भण्डारी, भ्वाईस नेपालगन्जका अध्यक्ष रमेश सिटौला लगायतले हस्ताक्षर गरेका थिए ।