Date: March 25, 2019

फेरि सल्बलाए हुन्डी कारोबारी

८ श्रावण २०७५, मंगलवार ०३:२२

५३ लाख नगद र २३ लाखको चेकसहित पाँच कारोबारी पक्राउ

काठमाडौं । राजस्व छल्दै हुन्डी कारोबार बढ्न थालेपछि प्रहरीले विशेष अप्रेसन थालेको छ । लामो अनुसन्धानपछि महानगरीय अपराध महाशाखाले सोमबार ठूलो रकमसहित पाँचजना हुन्डी कारोबारीलाई पक्राउसमेत गरेको छ ।गैरकानुनी हुन्डी कारोबार गरेको सूचनाका आधारमा महाशाखाले एक महिनाअघिदेखि हुन्डी कारोबारीविरुद्ध निगरानी थालेको थियो ।

सोही आधारमा कारोबारी यकिन भएपछि सोमबार काठमाठौंको न्युरोड र कुलेश्वरका विभिन्न स्थानबाट ठूलो परिमाणको रकमसहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले जानकारी दिए । प्रहरीले आफैँ ग्राहक बन्नेदेखि हुन्डी कारोबारका लागि ग्राहक पठाउनेसमेत काम गरी तथ्य पत्ता लगाएपछि छापा मारी उनीहरूलाई पक्राउ गरेको बताएको छ ।

रकमसहित रंगेहात पक्राउ पर्नेमा भारत दिल्ली घर भई काठमाडौंको कुलेश्वर बस्ने फलफूल व्यापारी विजय गुप्ता, ललितपुरको महालक्ष्मी नगरपालिका–९ निवासी दीपक श्रेष्ठ, चितवन खैरेनी नगरपालिका–१० शान्तिबजार घर भई काठमाडौंको बाफल बस्ने सन्जित पाण्डे, भारत घर भई काठमाडौंको ताहाचल बस्ने व्यापारी अंकित अग्रवाल र पुतली सडक बस्ने धनकुटाको महालक्ष्मी नगरपालिका–३ का पूजन छाला जिमी रहेका छन् ।

उनीहरूलाई अपराध महाशाखाबाट खटिएको विशेष टोलीले कारोबार गर्दै गरेको रकमसहित पक्राउ गरेको हो । पक्राउ परेका पाँचैजनाका साथबाट ५३ लाख १९ हजार ६ सय ७५ रुपैयाँ नगद र २३ लाख १३ हजारको चेक बरामद भएको प्रहरीले जनाएको छ । ‘प्रारम्भिक अनुसन्धानबाटै उनीहरू अवैध हुन्डी कारोबारमा संलग्न रहेको देखिएको छ,’ एसएसपी सिंहले भने ।

पक्राउ परेका सबैलाई प्रारम्भिक अनुसन्धान गरी थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइने महाशाखाले जनाएको छ। अपराध महाशाखाले पछिल्लो समय राजधानीमा हुने गरेको अवैध कारोबारमाथि विशेष निगरानी अघि बढाएको छ।

यसअघि प्रहरीले क्रिकेट र फुटबलका सट्टेबाज तथा मिटर ब्याजका नामले चिनिनेहरूविरुद्ध अपरेसन चलाएको थियो । मिटर ब्याज, सट्टेबाजपछि अपराध महाशाखाले हुन्डी कारोबारीतिर हात हालेको हो । सरकारले विमानस्थलबाट हुने संगठित सुन तस्करीको छानबिनलाई तीव्र बनाएपछि केही समय राजधानीका हुन्डी कारोबारीले आफ्नो व्यवसायलाई सुस्तता दिएका थिए ।

छानबिन समितिको म्याद सकिएपछि प्रहरीको आँखा छल्दै उनीहरूले कारोबारलाई तीव्रता दिन थालेका हुन् ।  ‘लामो समयदेखि अवैध हुन्डी कारोबार गर्दै आएका थिए, बीचमा केही समय उनीहरू सुसुप्त बनेको र केही दिनयता पुनः कारोबार बढाएको पाइएको छ,’ एसएसपी सिंहले भने। उनका अनुसार पक्राउ परेका अभियुक्तहरूले भारत, अस्ट्रेलिया र चीनमा रकम पठाउने गर्दै आएका पाइएको छ ।

कुलेश्वरस्थित फलफूल व्यापारी भारतीय नागरिक गुप्ताले भारतलाई केन्द्रविन्दु बनाएर हुन्डी कारोबार अघि बढाएका थिए भने अन्यले चीन र अस्ट्रेलियामा रकम पठाउने गर्दै आएका थिए । सुन तस्करीमा समेत हुन्डीमार्फत नै कारोबार गर्ने गरिएको तथ्य यसअघि नै खुलिसकेको छ । यही आधारमा प्रहरीले तस्करीको सञ्जाल तोड्न र अवैध कारोबार हुन नदिन अपरेसन चलाएको एसएसपी सिंहको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा